यो ठाउँ बिज्ञापनको लागी खालि छ

सबल्टर्न स्टडिज: नव-मार्क्सीय आँशुका थोपा



सबल्टर्न स्टडिज: नव-मार्क्सीय आँशुका थोपा

-      टीका 'भाइ'

हाम्राहरू कुन्नी कस्तो हतारोमा छन्। कुनै शब्दबाट चिनिनु, कुनै आन्दोलनबाट चिनिनु, कुनै धारणाबाट चिनिनु यस
प्रकारको भोक र चर्चाको खेतीमा हामी हाम्रो वास्तविकता, हाम्रो मौलिक सम्भावना, हाम्रो आफ्नै आविष्कारको क्षमतालाई कुल्चीरहेका छौँ कि!- नयाँ शब्दहरूमा आँखा गाडेर हामी त्यसको भैहाल्ने हतारोमा हुन्छौँ। आफ्नो स्थिति र वस्तुगतताको कसीमा कुराहरूलाई पर्गेल्ने वा मुल्यांकन गर्ने धर्य अबका हामीहरूले गर्नै पर्ला।
कुराहरू बजारभरि छन्। र ति कुराहरूलाई हेर्ने तरिकाको पनि अलग-अलग दोकान छन् यस्तोमा सबल्टर्न स्टडिजपुरानै तर हाम्रोमा चर्चाको एउटा हट-केकबनेको छ। त्यसैले मात्र आफ्नो सानो मत र यसमाथि मेरो आफ्नो धारणालाई प्रकाशित गर्ने अनौपचारिक जमर्को गरेको छु।
सबल्टर्नयस शब्दको शाब्दिक अर्थ ब्रिटिश सेनाको निम्न-श्रेणीका अधिकारी ( a person holding a subordinate position; specifically : a junior officer (as in the British army)) भनेर बुझिन्थ्यो। यसलाई पहिलोचोटी सांस्कृतिक मार्क्सवादका प्रयोक्ता अन्तोनियो ग्राम्सकीले उत्पीडित श्रेणी वा सर्वहाराकै समानान्तर प्रयोग गरेका थिए। पछी सन् १९८०मा रणजित गुहा अनि अन्य इतिहासकारहरूको प्रयत्नमा सबल्टर्न स्टडिज ग्रुपशुरु गरियो। उनको मत अनुसार: भारतीय राष्ट्रवादी इतिहासलेखन परम्परा धेरै अघिदेखि सम्भ्रान्तवादी प्रवृतिको प्रभावमा दबिएर रहेको छ। एकतिर साम्राज्यवादी सम्भ्रान्तवाद (colonial elitism) अनि अर्कोतिर बुर्जुवा राष्ट्रवादको प्रभावमा।उनको यत्न इतिहास लेखनलाई यो दुई प्रभावहरूदेखि मुक्त गराउनु रहेको थियो। इतिहासलाई किनारीकृत, उत्पीडित, पद्दलित राष्ट्र, गोष्ठी, श्रेणी आदिको सापेक्ष दृष्टिकोण वा हेराइबाट निर्माण गर्ने उद्देश्य लिएका हुन्। तथापी गायत्री चक्रवर्ती स्पिभाकले सबल्टर्न’-लाई परिभाषित गर्दै एक अन्तर्वार्तामा उत्तर-औपनिवेसिक अवस्थितिमा ति सबै अनि सबैथोक जो सांस्कृतिक साम्राज्यवादमा सिमित तुल्याईएका छन् वा प्रवेस-निषेध गरिएका छन् ति सबल्टर्न हुन् भनेका छन्।(subaltern is not just a classy word for oppressed, for Other, for somebody who's not getting a piece of the pie....In postcolonial terms, everything that has limited or no access to the cultural imperialism is subaltern-—a space of difference. Now who would say that's just the oppressed? The working class is oppressed. It's not subaltern ----- de Kock, Leon.- "Interview With Gayatri Chakravorty Spivak: New Nation Writers Conference in South Africa." ARIEL: A Review of International English Literature..-)
यस चर्चालाई ग्लोबल हिसाबमा चर्चाको केन्द्र बनाउने गायत्री चक्रवर्ती स्पिभाक हुन्। उनले प्रश्न उठाईन के सबल्टर्न बोल्नसक्छ?’ उनको तर्क थियो सबल्टर्नको सही चेतनालाई केही एलिट व्यक्ति समुहको अध्यनले कसरी समाउन सक्छ? स्पिभाक सिधै लेख्छन् जब यी लेखकहरू लेख्छन (सबल्टर्न चेतनाबाट?) श्रेणी सम्बन्ध उनीहरूको स्वार्थ अनि पहल केलाउन थाल्छन् स्वाभाविक रूपमा उनीहरूको निष्कर्ष कार्ल मार्क्सको नजिक पुग्छ। (spivak: when these writer speak, in their essentialising language, of a gap between interest and action in the intermediate group their conclusion are closer to Marx than to the self-concious naivete of Deleuze’s pronouncement on the issue)
सबल्टर्न’-को माथि वर्णित चर्चा पर दुई व्यक्तिको अनुहार अघि आउँछ रणजित गुहा अनि गायत्री चक्रवर्ती स्पिभाक। यी दुइजनाले अक्सफोर्ड युनिवर्सिटी प्रेसबाट प्रकाशित सेलेक्टेड सबाल्टर्न स्टडिज पुस्तकलाई संयुक्त रूपमा सम्पादन गरेका हुन्। स्पिभाक आफैलाई मार्क्सवादी-नारीवादी-बिनिर्मानवादी भन्न रुचाउँथिन्। अर्कोतिर रणजित गुहा विद्यार्थी कालदेखि नै मार्क्सवादी थिए। कम्युनिस्ट पार्टीका सदस्य पनि। आफुलाई चारु मजुमदारबाट प्रभावित बनेको कुरा स्विकार्दै उनले कम्युनिस्ट पार्टीमा आएको भट्कावहरूबाट प्रोत्साहित भएर मार्क्सको दर्शनका समस्याहरू अध्ययन गर्न प्रेरित गरेको स्विकार गरेका छन्।(सन्दर्भ: In Search of Transcendence: An Interview with Ranajit Guha Interview (in Bengali) with Ranajit Guha (RG), 2 February 2010, at his home in Purkersdorf (near
Vienna), Austria) यसै अन्तर्वार्तामा उनको हिगेल, हाइडेगर, कान्ट र नित्छेको प्रभाव आफुमा रहेको पनि स्विकार गरेका छन्।
यी दुवै सर्जकहरू मुलतः कार्ल-मार्क्सबाट प्रभावित भएपनि राजनैतिक भन्दा बडी एक एलिट चिन्तकहरू नै हुन् जसको चिन्तन स्वदेशको साटो युरोपको माटोमा बडी फस्टाए। यिनीहरूको काल चिन्तनको थुप्रै सङ्कटबाट गुज्रिरहेको काल हो। पर्यावरणवाद, सेकेन्ड वेभ फेमिनिज्म, उत्तर-आधुनिक चिन्तन, मार्क्सवादको सङ्कट र नव-मार्क्सवादको निरास बिरुवा हुर्किरहेको अवस्था। सन् १९६०-को दसकमा फ्रान्समा भएको कृषक अनि विद्यार्थी क्रान्तिको पराजय, अमेरिका अनि युएसएसआर माझको सितयुद्ध अनि युरोपमा कम्युनिष्ट विचारधारा र मार्क्सवादप्रतिको लगाम आदि माझमा सबल्टर्न स्टडिजमार्क्सवादको विकल्पको रूपमा अघि आएको थियो। तर यसले नव-मार्क्सीय चिन्तनको बुँदा वा तत्व पनि लिएरै आएको थियो।
मार्क्सवादले जसरी आधार अर्थतन्त्रलाई मान्दै राजनैतिक सत्ताप्राप्तिको संघर्षलाई प्रधानता दिन्छन् यसको साटो संस्कृति सरह अधिरचनालाई प्रमुखता दिएर नव-औपनिवेसिकतामा सांस्कृतिक साम्राज्यवाद हावी हुने र यसको विरुद्ध उत्पीडित राष्ट्र वा श्रेणीसमुहको आवाजलाई साहित्य, इतिहास, समाजशास्त्रीय अध्ययन वा मध्यमद्वारा अग्लो बनाउने यत्नमा सबल्टर्न स्टडिज समुहअघि आएको देखिन्छ। तथापी यसको मूल अभिष्ट के हो भन्ने बारेमा कुनै निच्छितता छैन। साहित्यमा सबल्टर्न विमर्शको सन्दर्भमा यो मार्क्सीय प्रगतिवादभन्दा अलग होला? यो सवाल उठाउन सकिन्छ। साहित्यमा राजनैतिक अन्तरवस्तुलाई निषेध गरेर सट्टामा सांस्कृतिक वा अन्य अधिरचानागत बुँदाहरूलाई महत्व दिईए त्यो सोझै नव-मार्क्सवाद हुने नभए मार्क्सवादीक।
एलिट साहित्यको सट्टा श्रेणी आधारमा सर्वहाराको साहित्य लेखिने गरेको वा हुने गरेको तथ्य दोश्रो शताब्दीदेखि नै चलेको तथ्य सर्वविधित छ- लेटिन लेखक ओलस जेलियसले आफ्नो नोक्टस एट्टिकानामक पुस्तकमा स्क्रिप्टर प्रोलेटरियस’-को विपरित अर्थमा स्क्रिप्टर क्लासिक्सभन्ने पदावली प्रयोग गरेका छन्।स्क्रिप्टर प्रोलेटरियसले सर्वहारा वर्गका निम्ति लेख्ने रस्क्रिप्टर क्लासिक्सले चाँही अभिजातवर्गका निम्ति लेख्ने लेखकलाई बुझाउँछ।”(पाश्चात्य साहित्यका प्रमुख वाद- डा. कुमारबहादुर जोशी) वर्ग-विभाजित समाजमा एक शासक श्रेणी वा वर्गले आफ्नो हित अनुकुल साहित्य-कानुन-विचारधारा-राजनैतिक संस्थान निर्माण गर्दै लैजान्छ अनि शासितहरूले त्यसलाई तोड्नु वा विरोध गर्ने प्रक्रियाबाटै मानव समाजको इतिहास अघि बढेको छ। सबल्टर्नजुनै अर्थमा पनि शासक नभएर शासित श्रेणीसमुह नै हुन्छन् र यिनीहरूबारेको साहित्य निर्माण गर्नुको एउटै अर्थ हुन्छ यिनीहरूको उन्मुक्ति केबाट? शासकहरूबाट। कुन माध्यमबाट? यतिखेर राजनैतिक आन्दोलन, संघर्षको चेतना बाहेक अर्को एउटा विकल्प रहन्छ सामाजिक डार्विनवादका प्रयोक्ता हर्बर्ट स्पेन्सरहरूले बताए समान संसारमा मानव-समाजको विकासवादी(evolutionary) एकता संघर्ष र नियती भोग्नु वा लुतेहरूले मार्क्सले देखाए जस्तै क्रान्तिकारी परिवर्तनको यात्नमा जुट्नु।
आखिर साहित्यमा सबल्टर्न चेतना भनेको सबल्टर्नको अनुहारको नक्सा कोर्दै बस्नु भनेको वा त्यो अनुहारसित खेलबाड गर्नु पनि त अवस्य होइन।
सबल्टर्न स्टडिजको प्रसंगले ज्ञात-अज्ञात एउटा सवाल त ल्याएको छ कि साहित्य, वा लेखनले कसरी एकतर्फी पूर्वाग्रहसित शासक श्रेणी र अभिजातवर्गीय चेतनालाई बोकिरहेको छ। यसले त्यसको वैकल्पिक उपाय सोच्न पनि प्रेरित गरिरहेछ तर यस्ता प्रत्येक सवाल र ज्ञान-मिमांसक तर्कको अन्तमा मार्क्सको एउटा बलियो आग्रह खडा भएर बोल्छ- दार्शनिकहरूले संसारको, जीवन-जगतको व्याख्या गर्छन् तर मूल कुरा त यसलाई बदलिनु हो। कसरी? संसारले सोच्न छोडेको छैन।
(भारतीय नेपाली कवितामा टीका एक सशक्त कवि हुन्। यिनको पाइतालातल्तिर नामक कविता कृति प्रकाशित छ। नेपाली भारतीयहरूको सय वर्षको इतिहासलाई यिनले हाम्रो सय वर्षको इतिहास किताबमा समेटेका छन्। यिनी उदीयमान प्रकाशनगृह मानवी प्रकाशन’-का पनि कर्णधार हुन्।)
Theme images by i-bob. Powered by Blogger.