कवि तुल्सी थापा र उनका कविताहरूको अध्ययन
कवि तुल्सी थापा र उनका कविताहरूको अध्ययन
- निमेष निखिल
मकवानपुरे साहित्यका एक
सशक्त कवि हस्ताक्षरका रूपमा रहेका तुल्सी थापा (वि.सं. २००२) विक्रमीको दोस्रो दशकको प्ररम्भतिरतिरबाटै
साहित्यसिर्जनामा सक्रिय रहेका कवि हुन् ।
थापाका विभिन्न कविताहरू तत्कालीन समयका विभिन्न पत्रपत्रिकाहरूका
छरिएर रहेका देखिन्छन् । त्यसपछिका दशकहरूमा थापाको
साहित्यिक उपस्थिति न्युनप्रायः रहेको देखिन्छ । विक्रमीको तेस्रो
दशकतिरैबाट झन्डैझन्डै सुषुप्तावस्थामा रहेका थापाले विक्रमीको पाँचौं
दशकको मध्यतिरबाट आफ्नो साहित्यिक सक्रियता एकाएक बढाएको देखिन्छ । त्यसो
त यस बीचमा थापाले लेख्दैनलेखेका भने होइनन् । उनले यस समयखण्डमा
विभिन्न नाटक, कविता तथा लघुकथाहरू
लेखेको देखिन्छ । वर्तमानमा आएर मकवानपुरे साहित्यको
कविता र नाटकका क्षेत्रमा आफ्नो सशक्त उपस्थिति देखाएका थापाले
आफ्नो प्रथम प्रकाशित मसिना कविताहरूको सङ्ग्रह ‘एक निमेष अनन्तको’ का लागि नारायणी
वाङ्मय पुरस्कार (संयुक्त रूपमा) प्राप्त गरेका छन् ।
तुल्सी थापाको प्रथम प्रकाशित कृति ‘एक निमेष अनन्तको’ –को अध्ययन गर्दा उनका कविताहरूमा सूक्ष्मता, सुत्रात्मकता, व्यङ्ग्को तीब्रता, सङ्क्षिप्तता, मिथकीयता, प्रतीकात्मकता, दार्शनिकता, समसामयिकता आदिजस्ता विशेषताहरू औँल्याउन सकिन्छ । जापानी हाइकु शैलीलाई अनौपचारिक ढङ्गले प्रयोग गरी लेखिएजस्ता लाग्ने थापाका मसिना कविताहरूलाई समीक्षा गर्ने क्रममा समीक्षक नवराज शर्माले ‘दाना कविता’ भनेर नामकरण गरेको देखिन्छ । वास्तवमा कवि तुल्सी थापाका कविताहरू अत्यन्त थोरैमा धेरै भन्न सक्ने सामथ्र्य राख्छन् । अत्यन्त व्यङ्ग्मूलक ढङ्गले लेखिएका थापाका कविताहरूमा पौराणिक र ऐतिहासिक कथ्यवस्तुलाई वर्तमानसङ्ग तादात्म्य गराई व्यञ्जनामूलक शैलीमा अभिव्यक्त गर्ने प्रवृत्ति रहेका पाइन्छ । थापाका अन्य कविताहरूमा पनि पौराणिकता, मिथकीयता, वर्तमानबोध आदिजस्ता विशेषताहरू औंल्याउन सकिन्छ ।
समग्रमा तुल्सी थापालाई मकवानपुरका एक सचेत, बौद्धिक, तार्किक तथा प्रतीकवादी कविका रूपमा हेर्न सकिन्छ । भाषाशैलीका दृष्टिले थापाका कविताहरू जटिलता र सरलताको दोसाँधमा रहेको आभाष पाइन्छ । त्यसकारण पनि उनका कविताहरू सामान्य र बौद्धिक दुवैखाले पाठकका लागि आस्वाद्य देखिन्छन् । यति भइकन पनि थापाको समग्र काव्यभाषा सरलभन्दा जटिल नै देखिन्छ । थापामा यदाकदा अनुप्रासीय धर्मको पालन गर्ने प्रवृत्ति पनि पाइने हुनाले उनका कविताहरूको भाषा जटिल नै भए तापनि प्रवाहमयता तथा लयात्मकताको मिठासले भरिपूर्ण रहेको पाइन्छ । परिष्कृत शैलीमा कविता लेख्ने कवि थापा मकवानपुरे काव्यजगत्का अत्यन्त थौरे राम्रा कविहरूमध्ये एक मानिन्छन् ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहको अध्ययन
:तुल्सी थापाको प्रथम प्रकाशित कृति ‘एक निमेष अनन्तको’ –को अध्ययन गर्दा उनका कविताहरूमा सूक्ष्मता, सुत्रात्मकता, व्यङ्ग्को तीब्रता, सङ्क्षिप्तता, मिथकीयता, प्रतीकात्मकता, दार्शनिकता, समसामयिकता आदिजस्ता विशेषताहरू औँल्याउन सकिन्छ । जापानी हाइकु शैलीलाई अनौपचारिक ढङ्गले प्रयोग गरी लेखिएजस्ता लाग्ने थापाका मसिना कविताहरूलाई समीक्षा गर्ने क्रममा समीक्षक नवराज शर्माले ‘दाना कविता’ भनेर नामकरण गरेको देखिन्छ । वास्तवमा कवि तुल्सी थापाका कविताहरू अत्यन्त थोरैमा धेरै भन्न सक्ने सामथ्र्य राख्छन् । अत्यन्त व्यङ्ग्मूलक ढङ्गले लेखिएका थापाका कविताहरूमा पौराणिक र ऐतिहासिक कथ्यवस्तुलाई वर्तमानसङ्ग तादात्म्य गराई व्यञ्जनामूलक शैलीमा अभिव्यक्त गर्ने प्रवृत्ति रहेका पाइन्छ । थापाका अन्य कविताहरूमा पनि पौराणिकता, मिथकीयता, वर्तमानबोध आदिजस्ता विशेषताहरू औंल्याउन सकिन्छ ।
समग्रमा तुल्सी थापालाई मकवानपुरका एक सचेत, बौद्धिक, तार्किक तथा प्रतीकवादी कविका रूपमा हेर्न सकिन्छ । भाषाशैलीका दृष्टिले थापाका कविताहरू जटिलता र सरलताको दोसाँधमा रहेको आभाष पाइन्छ । त्यसकारण पनि उनका कविताहरू सामान्य र बौद्धिक दुवैखाले पाठकका लागि आस्वाद्य देखिन्छन् । यति भइकन पनि थापाको समग्र काव्यभाषा सरलभन्दा जटिल नै देखिन्छ । थापामा यदाकदा अनुप्रासीय धर्मको पालन गर्ने प्रवृत्ति पनि पाइने हुनाले उनका कविताहरूको भाषा जटिल नै भए तापनि प्रवाहमयता तथा लयात्मकताको मिठासले भरिपूर्ण रहेको पाइन्छ । परिष्कृत शैलीमा कविता लेख्ने कवि थापा मकवानपुरे काव्यजगत्का अत्यन्त थौरे राम्रा कविहरूमध्ये एक मानिन्छन् ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहको अध्ययन
‘एक निमेष अनन्तको’ कवि तुल्सी थापाको वि. सं. २०५८ मा प्रकाशित मसिना कविताहरूको सङ्गालो हो । हाइकु शैलीको प्रभावमा लेखिएका यी कविताहरूमा हाइकु संरचनाको नियम अनुशासनलाई भने पालना गरिएको छैन । तीनतीन हरफमा पूर्णता प्राप्त गरेका जम्मा एक सयवटा छोटा कविताहरूमा कविले आफ्नो जीवनजगत्बाट अनुभूत सत्यहरूलाई अत्यन्त कलात्मक ढङ्गले व्यक्त गरेका छन् ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रको अर्को निजीपन भनेको हरेक नेपाली कविताहरूसङ्गै प्रस्तुत गरिएको तिनको अङ्ग्रेजी अनुवाद पनि हो । अर्को उल्लेख्य पक्ष के हो भने सबै कविताको अनुवाद कवि थापा स्वयम्ले गरेका हुन् । सङ्ग्रहका कतिपय कविता पहिला नेपालीमा लेखिएर पछि अङ्ग्रेजीमा अनुवाद भएका हुन् भने कतिपय कविताचाहिँ पहिले अङ्ग्रेजीमा लेखिएर पछि नेपालीमा अनुवाद भएका हुन् । दुवै लेखन तथा अनुवाद कार्य कवि आफैँले गरेका कारण दुवै भाषामा कविताको वास्तविक आस्वादन गर्न सकिन्छ अर्थात् दुवै भाषाका कविताहरूमा अनुवादको आभास पाइन्न, बरू लेखनको आभास पाइन्छ । यसले कविताको भावपक्षको संरक्षणमा पनि महत्व्िपूर्ण भूमिका निर्वाह गरेको छ ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहभित्र रहेका कविताहरूमा विषयगत वैविध्य पाइन्छ । समसामयिक जीवनदेखि विगत, वर्तमान र भविष्यसम्मका काव्यिक सङ्केत मात्र छैनन कविताहरूमा कविको इतिहासचेतना, पुराणचेतना, आदिको कलात्मक प्रस्तुतीकरण पनि छ ।
गौरवशाली ऐतिहासिक तथा पौराणिक आद्यबिम्बहरूलाई समसामयिक जीवनभोगाइस“ग एकाकार गराई अतीतप्रति गर्वबोध गर्ने प्रवृत्तिलाई पनि थापाको यस सङ्कलनका कतिपय कविताहरूले सङ्केतित गरेका छन् ।
समसामयिक जीवनभोगाइसङ्ग सम्बन्धित थापाका कविताहरूमा वर्तमानलाई अतीतसङ्ग तुलना गरेर हेर्ने प्रवृत्ति पाइन्छ । यसरी हेर्दा वर्तमान विनाशोन्मुख, कहालीलाग्दो र विसङ्गत रहेको तथ्यतर्फ पनि कविले सङ्केत गरेका छन् । सङ्कलनको पहिलो कवितामा कवि भन्छन्–
लगाम छ घोडा छैन
हो, अब सुरू हुन्छ
एउटा अनौठो यात्रा ।
(पृ. उल्लेख नभएको)
अनुभूतिको तीव्रता र प्रशस्त संवेदन क्षमता बोकेका थापाका कविताहरूमा वर्तमान मान्छेमा निहित स्वार्थपरकतालाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने प्रवृत्ति पनि पाइन्छ । ‘शान्ति’ शीर्षक कवितामा कवि लेख्छन्–
शान्ति
हैन कहाँ छौ हो तिमी ?
खोज्दैछु म तिमीलाई
युद्धमा हारेदेखि ।
वर्तमान देशीय अवस्थाले हरेकलाई व्यथित बनाएको छ, मर्माहत बनाएको छ । यस्तो देश कविलाई बिरामी देशजस्तो लाग्छ । निरूपाय बिरामी देशतर्फ सङ्केत गर्दै कविले देशको वास्तविक स्थितिको सटिक चित्रण यसरी गरेका छन्, कवितामा–
बिरामी देश
दिवसहरूमा चल्मलाउँछ
त्यसपछि थाहै हुन्न
कतिखेर अचेत पल्टन्छ ।
यस्ता धैरै कविता छन्– सङ्ग्रहमा, जसले कवि बाँचेको वर्तमानको वास्तविक चित्र प्रस्तुत गरेका छन् । प्रायः गरेर यस सङ्ग्रहमा परेका वर्तमानचेतनाबोधक कविताहरूले समसामयिक जीवनका बेथिति, कुसंस्कार, विकृति, विसङ्गति, हत्याहिंसा, आतङ्कपूर्ण परिवेश, मानवीय संवेदनहीनता, आदिजस्ता पक्षहरूलाई सम्प्रेष्य ढङ्गले उजागर गरेका छन् ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहभित्र देखापर्ने अर्को कविचेत भनेको राजनैतिक चेत हो । राजनीतिमा हुने विकासका आश्वासन र वास्तविकता, सत्ताप्राप्तिका लागि भएको खिचातानी, षड्यन्त्र, आदिजस्ता पक्षलाई कविले बडो चित्ताकर्षक शैलीमा प्रस्तुत गरेका छन्, आफ्ना कविताहरूमा । कविको राजनैतिक चेतनाको अभिव्यक्तिलाई पक्षपोषण गर्ने केही कविताका नमूनाहरू हेरौ“–
विकास
यो चुनावताका आउँछ
हामीसँग बस्दैन
नेतासँगै जान्छ ।
षड्यन्त्र
सबै जङगबहादुर दाउमा हुन्छन्
मौकाको कोतपर्व
को मच्चाउ“दैनन् ?
नेताजी
आउनोस् कुर्सीमा बस्नोस्
तर कृपया आफैँ
कुर्सी नबन्नोस् ।
व्यङ्यात्मक चेतनाको तीव्रता ‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहमा रहेका कविताहरूको अर्को उल्लेखनीय विशेषता हो । यस सङ्ग्रहमा रहेका कविताहरूमा निहित व्यङ्यले हृदयलाई छुने मात्र हैन व्यथित पनि बनाउ“छन् । त्यसो त सङ्ग्रहका अधिकांशजसो कविताहरूमा व्यङ्ग्यार्थभाव निहित छ, तैपनि व्यङ्ग्यचेतले परिपाक केही कविताहरू यहाँ दृष्टान्तस्वरूप प्रस्तुत गर्नु सान्दर्भिक होला–
बेवारिस
इतिहास, तपाईँ यहाँ सडकमा ?
कृपया, जानोस् र बस्नोस्
कुनै पुस्तकालयमा ।
विडम्बना
युद्ध किन भयो ?
अचम्म, थाहा हुन्न
वीर योद्धालाई पनि ।
आमन्त्रण
आउनोस्, महाभोज गरौँ
र यसपछि अर्को एउटा
अनिकाल पर्खौँ ।
हत्या
थुप्रै हत्या भएका छन्
कस्को ? सबैभन्दा बढी
बिचरा सत्यको ।
विषयवस्तु
आउनोस् पहिले
पेटभरि खाऔँ
अनि भोकका कुरा गरौँ ।
सङ्ग्रहमा रहेका व्यङ्ग्यचेतनामूलक कविताहरूमा खासगरी मानवीय प्रवृत्तिलाई मुख्य विषयवस्तु बनाइएको छ । यस क्रममा पनि कवि थापा अतीतका आदर्शहरूलाई वर्तमानसङ्ग जोडेर हेर्न पछि परेका छैनन् । समाज सकारात्मक परिवर्तनतिर उन्मुख होस् भन्ने कविको अव्यक्त चाहनालाई बडो सूक्ष्म ढङ्गले सङ्केत गरेका छन् कविताहरूले ।
कारूणिकता पनि ‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहमा सहजै औल्याउँन सकिने काव्यप्रवृत्ति हो । मान्छेको बिचरोपनमाथि असीम सहानुभूतिको भाव व्यक्त गर्दै लेखिएका यस्ता कविताहरूले मान्छे हृदयलाई द्रवीभूत बनाउँछन् ।
छातीमा टाँगिएको तक्माभित्र रहेको अदृश्य घाउ देखाउँदै कवि भन्छन्–
विजेता
छातीमा ठूलो तक्मा छ
छातीभित्र हेर, तक्माले नथेग्ने
गहिरो घाउ छ ।
किस्ताबन्दीमा बाँच्नुको नियतिले जिन्दगी टुक्रिएको कारूणिकता व्यक्त गर्दै कवि भन्छन्–
अविभाज्य
बाँच्नु छ किस्ताबन्दीमा
त्यसैले जिन्दगी यो
खण्डित छ छुक्राटुक्रामा ।
मान्छे रक्सी पिएको विभ्रममा आफ्नै विस्मृति पिइरहेको हुन्छ । कविकै शब्दमा–
विभ्रम
मिठो हैन तिम्रो रक्सी
जे पिउँदैछु
पिउँदैछु आफ्नै विस्मृति ।
सङ्ग्रहमा परेका कारूणिक कविताहरूमा कविले जीवनलाई सार्थकतातर्फ उन्मुख गराउन अनुनय गरेको आभास पाइन्छ । जीवनको नश्वरता र मृत्युको शाश्वतताको थयार्थलाई बुझ्ने आग्रह पनि अप्रत्यक्षतः गरेका छन् कविले । जीवनको महत्तालाई बोध गर्दै यसलाई परिष्कृत बनाउनुपर्ने आग्रह कविमा रहेको देखिन्छ ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहमा दार्शनिक चेतनाको अभिव्यक्ति पनि पाइन्छ । मान्छेभित्र ‘आफू’ हुनुको बोध बा“की रहेसम्म ऊ स्वतन्त्र हुन सक्दैन भन्छन् कवि–
दासत्व
भित्र, धेरै मभित्र
मेरो स्वत्व विराजमान छ
कसरी म स्वतन्त्र ?
मृत्यु अनुभव र अनुभूतिविहीन छ, त्यसैले यसलाई कसैले स्वीकार गर्न चाहँदैन भन्दै कवि भन्छन्–
मृत्यु
कोही स्विकार्दैनन् यसलाई
के यस निम्ति कि
अनुभव हुँदैन यसको कसैलाई ?
थापाको यस सङ्ग्रहमा सङ्कलित दार्शनिकचेत भएका कविताहरूमा विशेष रूपमा जीवन र मृत्युसम्बन्धी धारणाहरूको प्रकटीकरण भएको पाइन्छ ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहभित्र रहेका कविताहरूमा पाइने अर्को चर्चायोग्य प्रवृत्ति भनेको सूत्रात्मकता हो । अभिव्यक्तिका अत्यन्त कलात्मक सूत्रहरू प्रयोग भएका छन् कवितामा जसले कवितालाई आह्लादकारी बनाएका छन् । त्यसो त सङ्ग्रहका हरेक कविताहरूमा सूत्रात्मकता नपाइने होइन तैपनि केही कविताहरू यहाँ उदाहरणार्थ प्रस्तुत गरिएका छन्–
रिक्तता
आकाश छँदै छैन
त्यसैले त त्यो
सधैँ रहन्छ ।
वर्तमान परिवेशगत जटिलतालाई प्रस्तुत गर्दै कविले मरेका पनि ब्युँझनसक्ने सम्भावनालाई प्रस्तुत गरेका छन् । कविकै शब्दमा–
अतिशय
जो मरे चिहानमै छन
नखोतल्नुस् मरेका पनि
ब्युँतन सक्छन् ।
सूत्रात्मक कवित्वकलाकै अर्को नमूनाका रूपमा ‘फूल’ शीर्षकको निम्न कवितालाई पनि अघि सार्न सकिन्छ–
फूल
काँडा महान हुन्छ
र त तिमी अति सुन्दर
फुल्न सक्छौ ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहमा प्रगतिशीलताका अभिव्यक्तिहरू पनि पाइन्छन् । यथास्थितिबाट अघि बढ्ने र निरर्थकताको विरोध गर्ने आशयका केही कविताहरू पनि यस सङ्ग्रहमा औँल्याउन सकिन्छ । हरौँ केही उदाहरण–
वृद्धत्व
उज्यालो होऊ लालटिन
लौरो, तिमी कहाँ छौ ?
अझै धेरै टाढा पुग्नुछ ।
हरेक वस्तुतथ्यमा अर्थपूर्णताको अपेक्षा गर्ने कवि बेअर्थको आकाश खसे पनि फरक नपर्ने तथ्यतर्फ सङ्केत गर्दे भन्छन्–
रहस्य
पहाड कहिल्यै पग्लेन
बेअर्थको आकाश पनि
हैन किन खस्दैन ?
उज्यालो भविष्यतर्फको आशावादितालाई सङ्केत गर्ने ‘आशा’ शीर्षकको कविता प्रगतिशील अभिव्यक्तिको अत्यन्त सुन्दर नमूनाका रूपमा रहेको छ । हेरौ उदाहरण–
आशा
बास त्यहाँ बसौँ
जहाँबाट देखिनेछ
भोलिको बिहानी ।
‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहमा पाइने अर्को उल्लेखनीय पक्ष भनेको मिथकीय प्रस्तुति पनि हो । खासगरी महाभारतकालीन मिथकसन्दर्भलाई समसामयिकतासङ्ग तादात्मीकरण गरिएका केही कविताहरू समग्र सङ्ग्रहकै उत्कृष्ट कविताका रूपमा रहेका छन्–
दृष्टि
गान्धारी पट्टी खोल
धेरै कुरा देख्दैछ धृतराष्ट्र
ऊ सधैँ अन्धो छैन ।
वर्तमान समयमा असत्यबाट सत्य पराजित भएको तथ्यलाई सङ्केत गर्दै अर्को मिथकीय अभिव्यक्ति यसरी प्रस्तुत गर्छन् कवि–
विवशता
श्रीकृष्ण रिक्सा चलाउँछन्
भेटिदैन कोही अर्जुन
सधैँ सवार दुर्योधन हुन्छन् ।
समग्र सङ्ग्रहको अन्तिम कविताका रूपमा रहेको मीथकीय अभिव्यक्तिको एक नमूना यस्तो छ–
अन्तिम दृश्य
सञ्जय, अब केही देखिदैन र ?
देखिन्छ महाराज
सर्वत्र अन्धकार देखिन्छ ।
उपसंहारमा भन्नुपर्दा ‘एक निमेष अनन्तको’ कवितासङ्ग्रहको अत्यन्त महत्त्वपूर्ण पाटो भनेको प्रतीकात्कमता हो । प्रस्तुत वस्तुतथ्यको माध्यमबाट अप्रस्तुतको बोध गराउने सामथ्र्यको प्रावल्य नै यस सङ्ग्रहका कविताहरूको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यी कविताहरूलाई ‘समष्टि कविता’ भन्नु मलाई उपयुक्त लागेको छ । थोरैमा धेरै भन्नसक्ने क्षमताले भरपूर थापाका कविताहरूमा पाठकीय विचरणको स्वतन्त्रता पाइन्छ । हरेक कविताहरूलाई आफ्नै बौद्धिकता, आफ्नै भोगाइ र अनुभवका आधारमा बुझ्ने र व्याख्याविश्लेषण गर्ने स्वतन्त्रता उपलब्ध हुनु यस सङ्ग्रहको महत्त्वपूर्ण पक्ष हो । अनुभूतिको तीव्रता र तीक्ष्णता भएका कवि तुल्सी थापाका यी कविताहरू मकवानपुरे साहित्यको मात्र नभएर समग्र नेपाली साहित्यकै महत्तम् उपलब्धिका रूपमा रहेका छन् भन्दा सायद अतिशयोक्ति नहोला ।


