यो ठाउँ बिज्ञापनको लागी खालि छ

शमाश्रीको कविता, बिना खोस्टाको मान्छे !

समा श्री
(कवियत्री शमा श्री)
 सोच्
कतै एउटा खाका तैयार गरेर
आँखा अगाडी घना बाक्लो पर्दा हाल्दै
अन्तरिक्षको अन्धकारमा
आँखा चिम्लेर
ऐनामा चिहाउँछ
मनगढन्ते आकार खोज्छ
दर्पण
आकार जन्माउँदैन
प्रतिबिम्बित मात्र गर्छ
दर्पणको प्रतिक्रियामा
सोच्
असन्तुष्टि जन्माउँछ
बिचरा दर्पण !
हरेक दिन प्रकट रोष पिउँछ
र पनि दर्पणको
नित्यकर्म उही रहन्छ
टुक्राटुक्रामा बिभाजित हुँदा पनि
कर्म छल्न सक्दैन
असन्तुष्टि दर्पणको प्रतिफल हैन
रोष दर्पणको झलक पनि होइन
दर्पण आकार जन्माउँदैन
प्रतिबिम्बित मात्र गर्छ
किन कि
दर्पण नग्न छ

मान्छेका दृष्टि तेज छ
त्यसैले मान्छे
मान्छेको आकार ठम्याउँन सक्छ
बरा !
मान्छेको बिचार ठम्याउँन सक्दैन
मान्छेको सोच छिचोल्न सक्दैन
शव्दहरुमा काली घोलेर
औशीका अन्धकारका आवरणमा
विचारहरू छरिन्छ
सोचलाई ढाँचा दिइन्छ
सयौँ पत्रमा लपेटिएको सोच
हजारौँ आवरणमा बेरिएको बिचार
दुर्भेद्य छ अगम छ
दर्पणझैँ नग्न छैन

नग्नता कुरुप हुँदैन
नग्नता अश्लील पनि हुँदैन
नग्नता कुरुप हुँदै होइन
प्रकृतिलाई खोल हालिदैन
फूल बिना पहिरन फुल्छ
हावा बिना आवरण बहन्छ
नदी जन्मजात नाङ्गै दौडिन्छे
किन चाहियो यिनलाई परिधान ?
तत्वहरु
आवरण भित्र बसेका
खोल भित्र गाभिएका
पहिरन भित्र सजिएका
दुष्कर हुन्छन्, दुर्गम हुन्छन्
सुन्दरतामा दृष्टिभ्रम हुन्छ
स्पर्शमा लावा हुन्छ
आकर्षणमा फजिती हुन्छ
श्वेत जल-फूलका ओढनेमा सजिएको
मनमोहक हिमालझैँ


एक पटक
सिर्फ एक पटक
आवरण फालेर
बाहिर नियाल
भित्र चिहाउ
त्यहाँ
साक्षात ईश्वर छ
बिना खोस्टाको मान्छे
December 1, 2013 at 12:25pm
Theme images by i-bob. Powered by Blogger.