यो ठाउँ बिज्ञापनको लागी खालि छ

शान्तिबाटिकामा आगोको मुस्लो !

(कथाकार: यादव देवकोट)
 मान्छेहरु सोधिरहन्छन्–‘ए त्यो पत्रिकाको समाचारमा आएको मान्छे तपाई नै हो ?’ ‘विचरा त्यस्तो भएछ है ?’ ‘बाँचेकाहरु धन थुपारेर मोजमस्ती गरिरहेछन्, मरेका–हराएकाका परिवारहरु दोबाटोमा बिचल्ली ।’ केही न केही भनिरहन्छन् । तिनीहरुले पढेछन् कुनै पत्रिकामा मेरोबारे आएको समाचार । मानिसहरुले जे जे भने पनि म सुनिदिन्छु चुपचाप । उनीहरुलाई जवाफ दिएर मेरो जिन्दगी चल्दैन । तर उनीहरुको कुराले मलाई घरि घरि पुराना दिनहरुको सम्झनामा लगेर अड्याईदिन्छ र तान्दै तान्दै ल्याईदिन्छ जीवनको यो उराठ बगरसम्म, खोलाले टाकुराबाट घिसार्दै, बगाउँदै ल्याएको रुखको हाँगालाई जसरी । ००० पोष्टरमा उनी पनि छन् । उस्तै ख्याउटे अनुहार लिएर टाँस्सिईरहेका । झुस्स दाह्री, छाला छेडेरै बाहिर निस्केलाझैं देखिएका हड्डी । पहिले पहिले उनको तस्विर भएको पोष्टर टाँस्न आउनेहरु पनि उनीजस्तै ख्याउटे थिए, चाउरिएको मरिचजस्ता । अहिले रगतले अघाएको किर्नोजस्ता भएका छन् । तिनै किर्नोजस्ता भईसकेका मानिसहरु ह्वारह्वार्ती आए मोटरसाईकलमा । भित्ताभरी धमाधम पोष्टर टाँस्न थाले । तिनका मुङ्ग्रोजस्ता हातले थिच्दा पोष्टरमा भएका उनीजस्ता ख्याउटेहरु दविएरै सकिएजस्तो लाग्नेगरि । पोष्टरमा लेखिएको छ–‘सर्वहारा, मजदुर, किसानको एकमात्र भरोसाको केन्द्र....।’ उनमा पूरै भरोसा थियो । आफैंप्रति, पार्टीप्रति, आन्दोलनप्रति । मानिसलाई जुन कुरामा भरोसा हुन्छ, त्यही पाउने बाटोमा हिँड्दो रहेछ । ‘सर्वहाराको मुक्ति भएरै छाड्छ’–उनी भन्थे । त्यसैका लागि हिँडे । ००० भर्खर एसएलसी दिएर बसेको थिएँ । नजिकको कुनै नातेदारले ल्याएको थियो उनको प्रस्ताव । विहेपूर्व भेट्ने, हेर्ने चलनै थिएन । भर्खर स्कुले जीवन निखारेर बसेकी सोह्र बर्षकी केटीले आफ्नो जिन्दगीको फैसला गर्न सक्ने कुरै थिएन । बा–आमाले गरेको फैसलालाई नाघ्न सक्ने आँट पनि कहाँबाट आउँथ्यो र † मेरो जिन्दगीको निणर्य बा आमाले गरिदिए । बा–आमाको निणर्यले जिन्दगी अर्कै बाटो मोडियो । सेतो सर्ट र कालो पाइन्ट लगाएर आएका थिए । लामा नाक, पातलो शरीर । जम्मा यत्ति देखें उनलाई विहे छिन्न आएको दिनमा । काठमाडौंमा पढ्छन्–अरुले कुरा गरेको सुनें । काठमाडौं कहाँ छ, कस्तो छ देखेको छैन । राम्रोसँग जानेको पनि होइन । त्यही काठमाडौं बसेर आएको मान्छेलाई पनि राम्ररी देख्नै नपाई मेरो विहे भयो । विहे भएको लामो समयसम्म पनि उनी राजनीतिमा लागेका छन् भन्ने थाहै थिएन । ००० राजनीतिमा लागेपनि पहिले पहिले खासै समस्या थिएन । तर लागेका रहेछन् समस्या झेल्ने राजनीतिको अक्करे बाटो । सकंटकाल लागेपछि उनी भूमिगत भए । काठमाडौंबाटै भूमिगत भएका हुन् । उनी भूमिगत हुँदा सात महिनाको गर्भवती थिएँ । शुरु शुरुमा प्रहरी आउँथ्यो घरमा छापा मार्न । उग्रवादीको घर, कहाँ लुकायौ उग्रवादीलाई भन्दै लछारपछार गर्थे । पछि सेना पनि आउन थाल्यो । गाउँलेहरु माओवादी परिवार भनेर सकेसम्म तर्किन खोजे । टाढा हुन थाले । रितिरिवाज, सामाजिक संस्कारमा पनि नआईदिए हुन्थ्यो, बोलाउन नपरे हुन्थ्यो जस्तो गर्न थाले । समाजबाट परिवार बहिष्कृत भयो म चाँहि माओवादीकी स्वास्नी परिवार, नातागोताबाटै बहिष्कारमा पर्न थालें । माइतीमा पनि सकेसम्म नआईदिए हुन्थ्यो जस्तो गर्न थाले । आमा बितिसकेकी थिइन् । दाजुभाई, बाउको मन आमाको जस्तो नहुने रहेछ । त्यसमा पनि बहिनीको विहे प्रहरीको अधिकृतसँग भएको थियो । दशैं तिहारजस्ता चाडबाडमा म माइती गएपछि बहिनी र दाई भाउजुहरु अध्यारो मुख बनाउन थालेको थिए । एकदिन रेडियो नेपालले फुक्यो मेरो लोग्नेकै नाम लिएर–‘आतंककारी गतिबिधिमा संलग्न भएकाले पक्राउ ।’ त्यो खवर सुनेको रातभरि निद्रा परेन । आासु कति बग्यो त्यसको हिसाबै छैन । कोल्टे फेर्दै र श्वास गन्दै रात कटाएँ । सिँगै जिन्दगीभन्दा लामो लाग्यो रात । विहानै उठें, घरको ढोका त खुल्लै पो छ । सासु रोइरहेी रहिछन् पिढींमा बसेर । उज्यालो नहुँदै तिनले भनिन्–‘हामी नआइन्जेल घर स्यार्नु ।’ ससुरालाई जर्वजस्ती घिसार्दै रुँदै गइन् सासु छोरा अर्थात् मेरा लोग्ने मनिसको खोजी गर्न । एकचोटी हैन, दुईचोटी हैन, खै कतिचोटी हिसाबै छैन । कहिले ससुरा, कहिले सासु गईरहे लगातार लगातार मनिषको खोजीमा । राती कोठाको ढोका नलगाई सुत्थे तै नि आउँछन् कि रचना भन्दै भन्ने आशले । मध्यरातसम्म निद्रा पर्थेन । खालि तन्द्राजस्तो मात्रै हुन्थ्यो । मध्यरातमा जव तन्द्राबाट निस्कन्थे आँखाभरि आँशु बगाउँदै ढोका ढप्क्याउँथे निरास भएर । थरिथरिका मानिसहरु आउँथे । कोही भन्थे–मनिषलाई फलानोले जेलमा भेट्यो रे । कोही भन्थे फलानोको छोराले सेनाको ब्यारेकमा भेटेको रे । सबै रे मात्रै भन्थे । यसै हो भनेर कसैले भन्न सक्थेनन् । केही सेनामा जागिर खाइृरहेका जवान, हवल्दारहरु भन्थे–हामिकलाई पैसा दिनुपर्छ, पैसा खर्च गर्ने हो भने मनिससँग भेटाईदिन्छु । भएको पैसा दिएर पठाएपछि ऊ कहिल्यै फर्कदैनथ्यो । ऊ पनि लापत्ता हुन्थ्यो मनिसझैं । तिम्रो लोग्ने खोज्दिन्छौं भन्दै आएका एनजिओहरुले फाराममा टाँस्दा टाँस्दा घरमा भएको मनिसको फोटो नै निखारिदिए । हामी त जताबाट पनि निखारिने मानिस रहेछौं । निखारिईरह्यौं निरन्तर निरन्तर । सासु वितिन् छोरा हराएको सुर्तैसुर्तामा । हप्ता, महिना हुँदै बर्ष वित्यो । हिउँदहरु निख्रदै बर्षहरु आईरहे । मनभरि कति पैह्रो गयो र बाढी चल्यो हिसाबै रहेन । घरबाट तलतल देखिन्छ जमेर बसेको बेगनास ताल । बेगनासको पानी भन्दा पनि बढी जम्यो मनभित्रै पीडाको गहिरो तलाउ । न रोएर निख्रने न कराएरै घट्ने । रुँदारुँदै छट्पटाउँदा छट्पटाउँदै दुब्लाएर घटें हाडछाला मात्रै बाँकी रहने गरि । मनबाट खुशी, जीवनबाट पति, शरीरबाट मासु सबै गायब भएपनि सेना–प्रहरी भने आईरह्यो घर घेर्न, खानतलासी गर्न । पाक्दापाक्दैको भात कतिचोटी पोखाईदिए ? अलि अलि भएको धानको भकारी कतिचोटी फुटाईदिए ? हिलाम्य बुट लिएर ओछ्यान र कपडामा कति बुकुर्सी मारे, बूढा भएका ससुराको बन्चटमा पेस्तोल तेस्र्याउँदै ‘ओइ आतंककारीको बाउ छोरा देखाउँछस् मार्दिउँ’ भन्दै कतिपटक हाडफिल बनाए ? तथानाम, अशिष्ट बोल्दै कतिपटक लछारपछार पारे मलाई ? प्रहरी चौकीमा सानो छोरालाई कुकुरको छाउरो च्यापेझैं च्याप्दै कतिदिन तारेख धान्न दौडिरहे ? के हिसाब † न लेखेर साध्य छ न सम्झेर । दिन ढल्दै जाँदा लौ आजै पो मार्छ कि भनेर श्वास सोहोरिएर हत्केलामा आएझैं लाग्थ्यो । लाग्थ्यो–बाँच्नुभन्दा मुश्किलको संसारमा अर्को कुनै काम छैन । ००० संकटकालकै याम । मनिषजस्तै एउटा पिलन्धरे केटो पिठ्युमा रातोझोला बोकेर उभियो हाम्रो आँगनमा । गालामा खत थियो, नाक लामा तर बाङ्गिएको । त्यही नाकबाङ्गे केटोले भन्यो–‘म मनिषको साथी हुँ ।’ उसले झोलाबाट निकाल्यो फन्फनी प्लाष्टिकले बेरेको एउटा फोटो । जसमा थिए मनिष र उही नाकबाङ्गे केटो । उसले फेरि भन्यो–‘काठमाडौंमा जान पर्‍यो, वेपत्ता परिवारको संगठन बनाउन पर्‍यो, पार्टीमा जोडिन पर्‍यो, खोजविन गर्न पर्‍यो । सास न लासको अबस्थामा छोड्नुभएन ।’ ससुराले जाउ भने । काखको नानी च्यापेर काठमाडौं हिँडे कुँडहरकी मोतिमाया आमालाई बाटोको साथी बनाएर । उनको छोरा पूर्ण पनि वेपत्ता छन् मनिषभन्दा सात महिना पहिलेदेखि । मोतिआमा पहिले पनि धर्ना, जुलुशमा आईसकेको मान्छे । तिनै बूढियाको पछि लागें । नाकबाङ्गे केटो भेटियो फेरि काठमाडौंमा । उसैले मिलायो वासको, गासको सबै ब्यवस्था । उसैले अह्राएको गरियो र खटाएको ठाउँमा बसियो । कहिले मानवअधिकार आयोगमा धर्ना, कहिले हस्ताक्षर, कहिले आमरण अनशन । जम्मा भएका छौं सबै उस्तै । कसैको लोग्ने, कसैको छोरा, कसैको दाजुभाई वेपत्ता पारिएका । जिउँदो मरेको थाहै नदिईएका । ००० शान्ति प्रक्रिया शुरु भयो । रातोपार्टीका नेताहरु धमाधम काठमाडौं ओइरिन थाले । मानिसहरुले भने–‘ल अब पार्टीले नै खोज्छ वेपत्तालाई ।’ ‘वेपत्ताको स्थिती सार्वजनिक गर्’ भन्दै सैनिक मुख्यालय घेराउ गरियो । तर अहँ मनिषको कुनै पत्तो लागेन । हजारौं मनिषहरु गुमनाम भईरहे । काठमाडौं आएको चार वर्ष भईसकेको थियो । त्यो बीच ससुरा आफैं आएका थिए काठमाडौं दुई पटक । घरमा एक्लै बस्न सकिएन भनेर छोरीकोमा बस्न थालेछन् । म फर्किन । फर्कन मन लागेन । मनिषलाई पछ्याएर त्यो घर छिरेको । उनी आफैं हराए । उनैलाई खोज्न आएँ यता र अडिएँ यतै । पार्टीको ब्यवस्थापनमा बसें । छोरा हुर्किन लाग्यो । छोरालाई यतै भर्ना गराईदिएँ स्कुलमा । शान्ति प्रक्रिया शुरु भएको केही वर्षमै पार्टीका मानिसहरु बद्लिन थाले । मतलबी हुन थाले । टाठाबाठाहरु कमाउनमा मस्त हुन थाले । सामुहिक बसोवास भताभुङ्ग भयो । खर्चपर्च दिँदा पनि नेताको नजिककाले मात्रै पाउन थाले । गाउँको जग्गा बेचेर ससुराले पठाईदिएको साठी हजार रकमबाट झिकेर कोठामा सामान किनें । छोराको फि तिरें । काठमाडौंको महङ्गीले केही महिनामै मनिसको अंश भनेर आएको जग्गा बेचेको साठी हजार सकियो । उनी जसरी वेपत्ता भए उसरी नै वेपत्ता भयो उनको नामको अंशको पैसा काठमाडौंको महङ्गीमा । एकदिन, विद्यालयबाट फर्किएर छोरा रोयो । विद्यालयमा उसको साथीले सोधेछ–‘किन तिम्रो बाबा कहिल्यै तिम्लाई लिन, पुर्‍याउन आउनुहुन्न स्कुल ?’ उसले सोध्यो–‘ममि बाबा खोई ? उसको गालामा मसिना शीतझैं टल्किएको आँशुको थोपा थियो । काठ चिर्न आरो लगाउनु अघि लगाएको धागोको मसिनो डोबजस्तै बाटो थियो मसिना आँशुका बुँदहरुले गालामा बनाएको । कोठाको भित्तामा मनिसको फोटो टाँसिएको थियो । त्यही नाकबाङ्गेले दिएको फोटोबाट बनाएको । त्यही पनि नभएको भए पानी फोटो तयार गर्नुपथ्र्यो । ‘तिम्रा बा मनभित्र छन्’–भन्न सकिन र फेरि पनि मनैमा भनें–‘भित्तामा छन् नि बाबु बाबा । भो नरोऊ, तिमी रोएको देखेर रुनुहुन्छ ।’ पसलको उधारोले मुख देखाउन नहुने भईसकेको थियो । कोठा भाडा नतिरेको पाँच महिना भएको थियो । एकदिन घरेबेटीले भन्यो–‘तिम्रो सामानले कोठाको बाँकी भाडा ओत्दैन ।’ ढोकामा चावी पड्काउँदै भन्यो–‘अब भाडा नतिरी कोठा खुल्दैन । हप्तादिनमा भाडा नदिए सामान जफत हुन्छ ।’ कोठामा घरबेटीले लगाएको चावी हेररे आँखा अघाएर थाक्यो । मन थाकेर अघायो । टुकुचाकै पानी जति बगेझैं लाग्यो आँशु । टुकुचाकै पानीझैं धमिलो लाग्यो आँशु र पोलिरह्यो त्यसैले आँखा र आँखाभन्दा बढी मन । कोठाबाट निकालिएको पहिलो रात रत्नपार्कमा बिताएँ रानी रत्नको शालिकछेऊ । मेरा लोग्ने, मेरा मनिष राजतन्त्र फाल्न टाउकोमा कफन बाँधेर हिँडे । म त्यही राजाकी आमाको शालिकछेऊ शालिकझैं उभिएको रुखको फेदमुनि ६ वर्षे छोरालाई छाँद हालेर अड्याईरहेको छु रातभरका लागि जीवन निख्लै पेट । आकासमा जुन चम्किलो बन्दै गयो । मनभित्र रात छिप्दिै गयो र अन्धकार भयो । हजारौं सूर्य चर्किएझैं भयो मनभरि र पसिना छुट्यो खल्खली । रुखको पातबाट तप्प शीत खस्यो निधारमा र बग्यो पसिनासँगै मिसिएर । आँखाबाट बर्रर आँशु निस्कियो र बग्यो शीत र पसिनामा मिसिएर । प्रभातको निधारमा खस्यो सानोतिनो धारा बनेर । केही मानिसहरु आए हामी सुतेकोतिर । पछ्यौराले छोपें आफुसँगै प्रभातलाई र श्वास दवाएर गुडुल्को परिरहें । ‘माल जस्तो छ’–एउटाले भन्यो । ‘भैगो छाड्दे’–अर्कोले आजाव दियो । मेरो जीवनमा कुनै तारा खसेन त्यो रात । विहान झिसमिसेमै रत्नपार्कबाट हिँडेर बौद्ध पुगें सोध्दै खोज्दै । फूपूको छोरा काम गथ्र्यो बौद्धमा गार्मेन्टमा । त्यहीँ काम गर्न थालें । रातोपार्टीका मजदुरहरुले तलब बृद्धिको माग राख्दै गरेको हड्ताल पछि गार्मेन्ट बन्द भयो । फूपूको छोरा लगत्तै मलेसिया उड्यो । गार्मेन्टमै काम गर्दा रामेछापतिरकी माइलीलाई साथी बनाएको थिएँ । माइलीकी दिदी बागबजारमा मकै पोलेर बेच्ने काम गर्थिन । कालीमाटीबाट मकैं ल्याएँ तिनै दिदीलाई जमानी राखेर । र, शुरु गरें यही रत्नपार्क शान्तिबाटिकामा बसेर मकै बेच्न । त्यसपछि मकै पोलिरहेछु निरन्तर । लाग्छ, गोलमा पोलिरहेछु आफैंलाई र बेचिरहेछु गोलमा पोलिएको आफैंलाई । बाग्मती नदी किनारको थापाथली पुलछेऊ सुकुम्वासी बस्तीमा टिनले बारेर बुकुरा बनाएँ । प्रभातलाई छेउको सरकारी स्कुलमा भर्ना गराएँ । ००० बजारभरि अविर जात्रा थियो । रातोपार्टीले चुनावमा धेरै सिट जितेको खुशीमा । मकै खान आईरहने रातोपार्टीको एउटा ठिटोले भन्यो–‘दिदी अब तपाईजस्ता गरीवका दिन फिर्छन् ।’ पछि । बर्षेभेल उर्लिएको बखत । बर्षेभेलझैं उर्लिएको रातो पार्टीका ठूला नेताको नेतृत्वमा सरकार बन्यो । दशैं र तिहारबीचको एउटा शुक्रवार । प्रभातलाई स्कुलबाट ल्याएर मकै पोल्न आएँ । गोल सल्काएँ । विस्तारै सल्किदै गयो । हरेकदिन गोल सल्काउँदा गोलसँगै सल्किरहेझैं लाग्छ आफैं । गोल सल्कन्छ, खरानी बन्छ र सकिन्छ । म दिनदिनै सल्कन्छु र फेरि सल्कनका लागि बाँकी रहन्छु । गोलझैं सल्किएर निख्रिए मेरो प्रभात रुँदैरुँदै हिँड्दो हो उसको बाबुको हाडखोरै वेपत्ता पारिएको शहरमा । त्यही दिन, एउटा केटो आयो र सोध्यो–एक घोग मकैंको कति ? उसको सोधाई, लाग्थ्यो ऊ सिँगै पृथ्वी किन्न खोजिरहेछ । केहीबेरमै खैरो रंगको खाकी लगाएका पुलिसहरु आए । तावा, बोरा र मकैको डालो लगेर गाडीमा हाले । मलाई सिँगै संसार घिसारेर गाडीमा कोचेझैं लाग्यो । प्रभात जोडजोडले रोईरहेथ्यो । मनभरि प्रश्नहरु दैडिए–‘उसको रुवाईलाई सधैंका लागि लग्ने गाडी किन आउँदैन ?’ दिदी तपाईजस्ता गरीवका दिन फिर्छ भन्ने रातोपार्टीवाला केटो मुसुमुसु हाँसिरहेको थियो यो सबै देखेर । ‘नगरपालिकाको गाडी हो’–कसैले भन्यो । ‘नगरपालिका भन्या के नि ?’–प्रश्न गरें । ‘सरकारको एउटा अगं’–उही रतोपार्टीवाला केटो बोल्यो । ‘सरकारले किन सामान लुट्या ?’ ‘सडकमा बेच्या भएर ।’ सडकमा मकै बेच्न नहुने रहेछ । अन्त बसेर बेचे हुन्छ । अन्त बस्न म कहाँ जाऊँ ? गणतन्त्रले सडकमा बसेर मकै बेच्न पनि दिएन । म संसदम छैन जहाँ बसेर सुत्केरी भत्ता र खसीको विल एकसाथ बेचुँ सचिवालयलाई । फुटपाथे ब्यापारीहरुलाई हटाउने भन्दै गणतन्त्र नेपालको पहिलो सरकारका प्रहरीहरु माईकिङ्ग गर्न थाले । रातो पाटी र घाम पार्टीको साझे सरकार थियो । झुत्रेझाम्रे मान्छेहरुको रगतले बनेका नेताहरु सरकारमा गएपछि सडकमा ब्यापार गरेको भन्दै कटवाँस बर्सायो टाउकोमा । टाउकोको कपाल भिजाउँदै बगेको रगत नाकको डाँडीबाट धारा बनेर भुईमा तर्कियो । विहेमा मनिसले दिएको मंगलसुत्र थियो बाँकी । चिनो भनेपनि, सम्पति भनेपनि, सम्झना भनेपनि त्यही त बाँकी थियो । त्यही पनि बेच्नुपर्‍यो उनीजस्तै हजारौंहजार मानिसहरुको जीवनको जगमा टेकेर उभिएकाहरुको शासनमा फुटेको टाउकोको उपचारका लागि । ००० फेरि चुनाव आएको छ । चुनावसँगै शान्ति बाटिका छेउछाउका भित्ताहरुमा पोष्टरको लर्को छ । ती पोष्टरहरुमा फेरि टाँसिएका छन् मनिष र मनिषहरु । मनिषहरु बिक्ने यस्तै मौकामा त हो । मुक्तिका, हितका र कल्याणका हरफहरुले भित्ता भर्ने बेला पनि यही हो । मनिसको फोटो भएको पोष्टर छपक्कै टाँसिएको छ भित्ताभरि । प्रभात एकतमास हेरिरहन्छ पोष्टरमा । शायद पोष्टर भन्दा बढी पोष्टरमा रहेको फोटोमा । कोठामा टाँसिएको फोटो हेरेर बाबुको अनुहार चिन्ने भएको छ । उसले बाबुलाई देखेको त्यही फोटोमा त हो । शायद अब धेरै कुरा बु¤ने पनि भएको छ । जीवनको बाह्र बर्ष चानचुने समय होइन । त्यसको पनि आधा समय सडकमा हुर्कनु भनेको । ‘बाबाको फोटो किन टाँसेको ?’–एउटा शनिवार मकै पोलिरहँदा रत्नपार्कमै सोध्यो उसले । ‘म तेरा बालाई बेचिखान सक्दिन, त्यसैले मकै बेच्न बसेको छु’–बेहोसीजस्तै बनेर बोलेछु–‘तेरा बालाई बेचेर नेताहरु साहु बने अब महाजन बन्न खोज्दैछन् । त्यसैले तेरा बाको फोटो बेच्न राखेका ।’ प्रभातले धमाधम पोष्टर च्यात्न थाल्यो । देखेजति र सकेजति सबै । मैले नच्यात् भनिन । गणेशमान सिंह लडुँला भन्ने डरले लौरो टेकेर उभिएका छन् पत्थरको शालिकमा । त्यही शालिकको छेउमा एउटा सेतो स्तम्भ गाडिएको छ । जहाँ लेखिएको छ कालो अक्षरमा–विश्वमा शान्ति फैलिईरहोस् । च्यातेको पोष्टर त्यही स्तम्भनेर जम्मा ग¥यो प्रभातले । आगो लगाईदियो पोष्टरमा । ह्र्वाह्वार्ती बल्यो र खरानी भयो विक्रिमा राखिएको उसको बाबु । हाम्रो पोष्टर च्यात्ने तै पो होस् खाते भन्दै धमाधम लात्ति र मुड्की बर्साए रातोपार्टी वालाहरुले प्रभातमाथि । ऊ कंकलाशब्द निकालेर चिच्यायो रानीपोखरीको पानीमा तरंग उठ्नेगरि । ऊ भएतिर दौडिएँ । देखेँ– उही नाकबाङ्गे केटो छोपिरहेको छ मेरो छोरोलाई । कराईरहेको छ–‘ए नहान मर्ला बच्चै छ ।’ प्रभातलाई ताकेर हानेको मुक्का र लात्ति सबै बेहोरिरहेछ उही नाकबाङ्गे । केही बेरमा गुरुरु पुलिसहरु आए । कुटपिट गर्नेहरु तितरवितर भए । प्रभातलाई पुलिसले घिच्यायो । म रुन थालें । नाकबाङ्गे केटो मेरो नजिक आयो ‘मनिषजीको जहान हैन तपाई ?’–उस्तै मधुर र मिजासिलो लवजमा बोल्यो । उस्तै ख्याउटे छ । लवाई उस्तै । बद्लिएनछ । कत्ति पनि । नाक उस्तै बाङ्गो नै छ । म त रातोपार्टीवाला सबै विग्रिए, सडे भन्ठान्थें । होइन रहेछ । भूमिगतकालमा आकांक्षा भन्थ्यो नाम । आकांक्षामा ठेस लागेर होला निकै उदास र न्याउरो देखिन्थ्यो । ‘सबै बेचिनका लागि हाटमा राख्दैनन् आफुलाई’–नाकबाङ्गेले भन्यो–‘हामीजस्ता बिक्न राजी नभएका मानिसहरु बाँकी नभए कति प्रभातहरु रातो झण्डा ओढेका ‘दादा’हरुको लात्तिमुनि निख्रन्छन् के हिसाब भाउजू ?’ पुलिस चौकीतिरबाट खुरुरु दौडिँदै आयो प्रभात । नाकबाङ्गेतिर फर्कदै भन्यो–‘थैंक यू अंकल ।’ प्रभातको हातमा च्यातिएको पोष्टर थियो । त्यही च्यातिएको पोष्टरमा ख्याउटे अनुहार लिएर टाँस्सिईरहेका थिए मनिष । बत्तिदै आयो एउटा निलो रंगको माइक्रोबस अगाडी पार्किङ्गमा रोकिन । गाडीमा बजिरहेको थियो–‘तुम मुझे भुल भी जाओ वही हक हे तुमको ।’ छेउमा पोष्टर बालेर थुप्रिएको खरानीलाई फुरफुर पार्दै उडाईरहेथ्यो हावाले विस्तारै विस्तारै । बाबु हराएर शहर पसेको प्रभात समयसँग मनभरि पीडा र आक्रोसको आगो बाल्न थालेको बुझें पोष्ट काण्डपछि । जसरी पोष्टर जलाएर खरानी बनायो उसले त्यसैगरि खरानी बनाउन सक्दिन उसको मनमा दन्किएको आगोलाई । कहिल्यै निभाउन सक्दिन आफैंभित्र पर्खाल बनेर बसेको अत्यासलाई र आगो लगाउन सक्दिन पीडाहरुले भरिएको अत्यासको पोष्टरलाई । बर्षौदेखि शान्तिबाटिकामा बसेर बालिरहेछु मनभरि आगोको मुश्लो । शायद मसँगै मेरो छोराको मनको आगो देखेर गिज्याउँदै हाँसिरहेछ उही विश्वमा शान्ति फैलिरहोस्वाला स्तम्भ । 
(सेतो पाटि बाट साभार)
Theme images by i-bob. Powered by Blogger.