यथार्थको बेगमा
यथार्थको बेगमा
— महेश पौड्याल
हाम्रो युग आदर्शवादी साहित्यको युग होइन । यसको अर्थ, आज आदर्शवादी साहित्य लेखिँदै लेखिँदैन भन्नेचाहिँ होइन । तर आदर्शमाथि यथार्थवाद हावी भएको कुरा सबैले स्वीकार गरेको कुरा हो । हामीले भोग्दै–बाँच्दै आएको यथार्थ नै आदर्शभन्दा धेरै रुमानी, र कतिपय अवस्थामा धेरै कहरपूर्ण पनि छ । त्यसर्थ यथार्थको घेराबन्दी तोड्नु त्यति सजिलो देखिँदैन ।आदर्शवादको यस्तो ह«ास हुनुका केही कारणहरू छन् । यथार्थवादी लेखनको सबैभन्दा शक्तिशाली पक्ष भनेको समस्या–लेखन हो । आज, हामी बाँचिरहेको समयमा मानव समाजले आफैँले निर्माण गरेका समस्यहरूको सङ्ख्या यति धेरै छ कि मान्छेलाई आजभोलि तिनै समस्याको समाधान, अथवा ती समस्याहरूका कारण उत्पन्न भएको कुण्ठाको विरचेन नै सबैभन्दा ठूलो ध्येय बन्न पुगेको छ । “भूखे भजन नाहीँ गोपाला” भनेजस्तो, पेटभरि भोक र निधारभरि समस्य बोकेर मान्छे जूनताराको कविता लेख्न चाहिरहेको देखिँदैन ।
हुन त यथार्थवाद निकै पट्टेरलाग्दो हुन्छ भनेर टिप्पणी गर्नेहरूको पनि सङ्ख्या निकै ठूलो छ । अमेरिकी साहित्यकार जोन बार्थस् भन्छन्, “यथार्थ छुट्टी मनाउन जाने निकै आकर्षक ठाउँ हो, तर त्यहाँ कोही बस्न चाहँदैन ।” तर त्यहीँ अर्कोतिर टोनी मोरिसनको भनाइ छ, लेख्ने भनेकै यथार्थको विषय हो, र मान्छेको विषय हो ः “मैले उपन्यास लेख्दा होस् वा अरु नै केही लेख्दा, मैले गरेका हरेक क्रियाकलापको सम्बन्ध गाउँ, समाज वा तपाईसँग रहेन भने, मेरो कार्यको कुनै अर्थ छैन । म मेरो कल्पनाशीलताको कुनै निजी प्रयोगमा विस्वास राख्दिनँ । यसको अर्थ हो, कुनै पनि लेखनकार्यभित्र आफ्नो अधिकारप्राप्तिको अभिष्ट निहित हुन्छ ।”
यथार्थवादका पनि धेरै पाटाहरू छन् । अठारौँ शताब्दीको उत्तरार्धादेखि साहित्यलाई सबैभन्दा धेरै तरिकाले प्रभाव पारिरहेको यथार्थवादी चिन्तनधारा माक्सवार्द र फ्रायडवाद हुन् । सांस्कृति मूल्य र मान्यताका कारणले हाम्रो देशमा फ्रायडवाद टेबलमाथिको साहित्यभन्दा टेबलमुनिको साहित्य बढी बनेर गयो । उता, शास्त्रीय माक्सवादमा रहेका आधारभूत तर अतिशय रुमानीजस्ता लाग्ने दृष्टिकोणहरू क्रमशः सन्सोधित हुँदै जाने, र सारसङ्लनवादको प्रवृत्तितिर उम्मूख हुँदै जाने प्रवृतिले माक्र्सवाद अविरल बग्ने इन्द्रावतीमात्रै होइन, जथाभावी बग्ने उग्रवती पो हुन्छ कि भन्ने आशंका पनि व्यक्त गरिन थालेको छ । फेरि, जोन बार्थस्ले भनेजस्तो, थर्थावादको अत्यधिक प्राचुर्य पनि सधैँ पाच्य हुँदैन भन्ने कुरा, मानवीय स्वभावसँग पनि निकटताका साथ जोडिएको विषय हो । भन्नुको तात्पर्य यो हो, कि मानव जाति स्वभावले नै अतिशय यथार्थवाद सहेपछि अलिकति स्वतन्त्रता, अलिकता स्वच्छन्दता, अलिकति स्वैरकल्पना आदिको अपेक्षा गर्दछ । हामी यस कुराको प्रमाणका लागि केही सभ्यताका साहित्यको ग्राफलाई हेर्न सक्तछौँ ।
अद्ययुगीन अधिकांश साहित्य तिलस्मी अर्थात अतिशय स्वच्छन्दतावादको साहित्य हो । अङ्ग्रेजी साहित्यको हकमा बिवुल्फ र साइनेवुल्फको समय वीर रस, तिलस्मिी र स्वैरकलप्नावादी साहित्यको युग हो । त्यसपछि, स्वच्छन्दावाद र यथार्थवाद पालैपालो एक–अर्काका उत्तराधिकारी हुँदै आइरहेका छन् । कालो युग भनिने आठौँ शताब्दीतिरको युद्ध य यात्रावर्णनमा आधारित यथार्थवादी लेखन, त्यसपछिको लामो शून्यता, त्यसपछि पुनः जागरणकालीन स्वच्छन्दलेखन, त्यसपछि फेरि अठारौँशताब्दीको यथर्थावादी–माक्र्सवादी लेखन, त्यसपछि उन्नइसौँ शताब्दीको अहिलेसम्मकै सबैभन्दा उच्चकोटिको मानिएको स्वच्छन्दावादको युग, त्यसपछि, आधुनिकताको उदयसँग आएको यथार्थवाद र अतियथार्थवाद, र त्यसपछि, उत्तराधाअुनिक समयको जादुवी यथार्थवाद र उत्तराधुनिक फ्यान्टेसीमार्फत पुनः जाग्रत स्वच्छन्दतावाद ।
नेपाली साहित्य, विषेश गरी कविताको हकमा पनि यी प्रवृत्तिहरू नदेखिएका होइनन् । सुवानन्ददास र शम्भुप्रसाद ढुङ्गेलका वीररस, युद्ध यथार्थ र आदर्शवादी कविता तत्कालीन यथार्थबाट प्रभावित थिए भने, भानुभक्तसम्म आउँदा नेपाली कवितायात्राको स्वच्छन्दताको युगको शुरुवात भइसकेको थियो । यसको परिपक्व स्वरुप देवकोटा र लेखनाथ पौड्याल, र केही समयपछि गएर माधव घिमिरेमा देखियो । तर सात सालको क्रान्ति, र त्यसपछि अविरल रुपमा देशमा भइरहेको उथलपुथलले नेपाली साहित्यको मूल भँगालोलाई यथार्थवादको किलोमा लगेर बाँधिदिएको, र आजसम्म नेपाली साहित्य त्यही किलोको वरिपरि घुमिरहेको देखिन्छ । समकालीन कविताको हकमा त यो किलो अझ यति दरिलोसँग बाँधिएको देखिन्छ, कि केही गजल र गीतले बाहेक, समग्र काव्यले स्वच्छन्दावादको “स्व” सम्मलाई पनि अक्षुण्ण राख्न सकेको देखिँदैन । यथार्थवादसँग आफ्ना केही सामथ्र्य र सीमाहरू हुन्छन् । यथार्थवाद मान्छेको वस्तुस्थितिसँग सीधै तादम्य राख्ने साहित्य भएको हुँदा सबैको चासोको साहित्य हुने गर्दछ । फेरि, भोक, गरिबी, हक–अधिकार, मुक्ति र आर्थिक व्यवस्थाको कुरा गर्ने हुनाले यसले अधिकांश मानिसहरूलाई कुनै न कुनै हिसाबले छुने गर्दछ । तर, यसले अतियथार्थवादको बाटो पनि अवलम्बन गर्न सक्तछ, जुन कुरा यथार्थवाद र स्वैरकल्पनाको किनारतिरको चिन्तन हो । यस्तो अवस्थामा यथार्थवादसँगको कुनै पनि आदर्शवादी चिन्तन बाँकी रहँदैन, र कहिलेकाहिँ त्यो एउटा भ्रामक र उत्तेजक नारामा पनि परिणत हुन सक्तछ । थप, यथार्थवादी साहित्यले सहित्यको मूलभूत स्वभाव, स्वरुप, संरचना र प्रवृतिमाथि धेरै प्रयोग र भञ्जन गरिरहने सम्भावना रहन्छ । यो भञ्जन र प्रयोग आफैँमा नकारात्मक कुरा होइन, तर आफ्नो मूलभूत स्वरुपकै कारण कविता कविता बन्छ, तर त्यसै स्वरुपमाथि सम्झौता गरियो भने त कविता पुनः कुनै राजनैतिक पर्चाभन्दा पृथक केही नहुने सम्भावना पनि हुन्छ । यो “एजिटप्रोप” अर्थात एजिटेसन र प्रोपागण्डाको सन्धिमात्रै बनेर रहनेछ ।
यथार्थवादले समकालीन नेपाली कवितालाई के दियो, र यसले कहाँ कहाँ जोखिम खडा ग¥यो, त्यसको विश्लेषणको कोशिस् यहाँ गरिएको छ । राणाविरोधी आन्दोलनको समयमा अत्यन्त दबित रुपमा, र केही केही कविको कलममा मात्रै देखिने गरेको यथार्थवाद आज परिपक्व भएको देखिन्छ । गोपालप्रसाद रिमाल र भूपी शेरचन हुँदै हाम्रो समयसम्म आउँदा कथ्यप्रधान, विचारोत्तेजक कविताको ढिकुटी निकै बलियो बन्दै आएको छ । यसले नेपाल र विश्वको वस्तुस्थितिलाई नेपाली पाठकसामु टट्कारो रुपमा राखिदिएको छ । यसले नेपालीहरू राजनैतिक र समाजिक दृष्टिले निकै जागरुक बन्न पुगेका छन् र आज कुनै पनि शासकले सहजै आम नेपालीको स्वतन्त्रलाई कुण्ठित पार्नसक्ने सम्भावनाहरू देखिँदैनन् ।
आजको यथार्थवादी कविताले विसं २०२० तिरबाट २०४६ सम्म लेखिएको उच्च आधुनिक, परिष्कारवादी र प्रयोगवादी अध्यासले निम्त्याएका केही समस्याहरूको समाधान पनि प्रस्तुत गरेको छ । त्यस समय लेखिने कवितामा शिल्पगत र भाषागत दुवै दृष्टिले अङ्गीकार गरिएका भीरु प्रयोग, क्लिष्टता, दुरुहता र वैचारिक अस्पष्टताहरूका कारण आम पाठकबाट दूर हटेको कविता आज पुनः जनसाहित्य बन्दै गएको छ । कविबाट पाठकतिर नभई आज कविता पाठकहरूको जीवनबाट कविहरूको कलमतिर गइरहेको देखिन्छ, जसका कारण जनसाधारणका समस्य, उनीहरूका सपना जनसाधारणकै भाषामा लिपिबद्ध भइरहेका छन्, । कविताको इतिहासमा यसअघि कहिल्यै नदेखिएको उपलिब्ध हो यो हाम्रो समयको । यसका कारण कविता अझ तरल र सरल बनेको छ, र त्यसैले यसको प्रभावक्षेत्रमा व्यापक विस्तार भएको छ । प्रज्ञाप्रतिष्ष्ठान, केही पीपलबोटहरू र विश्वविद्यालय परिसरबाट कविता आज गाउँगाउँका देउराली, चौतारी, उकाली र भञ्जाङ्हरूतिर लोकगीतकै गतिमा गुञ्जन थालेको छ ।
छत्तीस सालदेखि साठीको दशकको पूर्वार्धसम्मका अधिकांश यथार्थवादी कविताको प्रमुख स्वर राजनीति र सामाजिक विसङ्गति थियो । एक हदसम्म यो आधुनिकतावादको महाआख्यानकै ह्याङ्ओभर थियो । तर समकालिन कविताले आफूले अङ्गीकार गरेको यथार्थवादको बाटोभरि मिथक, आदिम इतिहास, स्थानीय रङ् र साझा सामुदायिक सम्झनाबाट टिपिएका भङ्मिाहरूलाई पनि अटाएको छ, जसले यथार्थवादी हुँदाहुँदै पनि कवितामा एक रुमानी झङ्कार अनुभूत गर्न सकिन्छ । समकालिन नेपाली कविताले उत्तरआधुनिक प्रयोगधर्मिताको प्राविधिक उल्झनमा आफूलाई कहिल्यै अल्मल्याएको देखिँदैन । बरु, आधुनिकतावादले लादेको अव्यवहारिक प्रयोगको दौरबाट कविताले एकैचोटि छलाङ् मारेर, उत्तरआधुनिक थुम्कोलाई सीधै नाघेर सांस्कृतिक अध्ययनको गतिलाई समाएको देखिन्छ । फलस्वरुप, कविता सम्पूर्ण शास्त्रीय प्राविधिकताबाट हटेर सीधै आम मान्छेसम्म पुग्ने प्रयास गरिरहेको देखिन्छ । यसले गर्दा, समकालिन नेपाली कविता प्रतिदिन गीत–सङ्गीतको निकट गइरहेको देखिन्छ, जुन कविताको लोकप्रियाताको एक अनिवार्य शर्त पनि हो । आजभोलिका लोकप्रिय कविताभित्र पाइने लोक कथात्मक बान्की, लोकगीतका हरफ, लोक परम्पराका विम्ब र पात्रहरू, लोकोक्ति र स्थानीय बागधार यसको प्रमाण हो ।
यी तमाम सामथ्र्यहरूका वावजूद समकालीन यथार्थवादी नेपाली कवितासँग केही जोखिमहरू पनि छन् । समकालिन कविहरूले आख्यानसँग प्रतिस्पद्र्धा गर्नकै लागि क्यान्सग्रस्त कोशिकाजस्तै कविताको अतिशय उत्पादन गरिरेको पनि देखिन्छ । आजको गथार्थवादी धारा नारावाद, अतिवाद, क्षेत्रवाद र साम्प्रदायिकतातिर उन्मुख हुँदै गरेको पनि देखिएको छ । कतिपय अवस्थामा कविताले कथ्यप्रधानताका कारण कवितालाई कविता बनाउने यसको नैसर्गिक लालित्यसँग नराम्रोसँग सम्झौता गरेको पनि देखिएको छ । केही कविताहरू तात्कालिक समयको प्रतिबिम्बनमै अल्झिएका पनि छन्, र तिनीहरू नजन्मँदै विस्मृत हुन अभिशप्त पानीका थापा पनि हुनसक्छन् । कथ्यको पुनरावृत्ति, अस्थायी र प्रवाहमान समयमा स्थायी विचारप्रतिको अतिशय कट्टरता र प्रयोगका नाममा अपाच्य वाङ्मयको प्रयोग पनि आजको कविताका केही खोटहरू हुन् । यी तमाम सीमाहरूबाट आजका प्रत्येक कविहरू सचेत रहनु जरुरी छ ।
