पृथक प्रवाहः ‘विचारको उल्टो नदी’

पृथक प्रवाहः ‘विचारको उल्टो नदी’
—छवि अनित्य
कविता विचार हो, कविको नीजि विचार । कविता कुनै यो वा त्यो परिभाषा भित्र खुम्चिएर बस्नु हुँदैन र बसेको पनि छैन । यदि कसैले कविता भनेको ठ्याक्कै यही नै मात्र हो भन्छ भने त्यो संसारको सबैभन्दा ठूलो हाँस्यपात्र हो ।कवि सुवास खनालसँग कविताको आफ्नै परिभाषा छ । बेलाबखत पढ्न र सुन्न पाइने यिनका कविताका हरफहरुले यी कुरा बढी बोल्छन् । मकवानपुरे माटोमा रहेर साहित्य सिर्जनामा झण्डै एक दशकदेखि तल्लिन यिनै कवि सुवास खनाल यतिबेला आफ्नो पहिलो कृति ‘विचारको उल्टो नदी’ का साथमा नेपाली कविता बजारमा पदार्पण गरेका छन् ।
कविता हिजोका हुन् या आजका, कविता बजारमा केवल तिनै कविता मात्र उत्कृष्ट ठहर्छन् जसमा समय—चेत छ । यस अर्थमा पनि अहिले कविहरु समयप्रति ज्यादा सचेत छन् । कवि सुवास खनाल त्यही समय—चेत बोकेका तर फरक ढङ्गमा सिर्जना गर्ने सशक्त कवि हुन् । उनका कवितामा पनि अरुका जस्तै शब्दहरु छन्, तर तिनको संयोजन अलग छ । कवितामा बिम्बहरु छन् तर ती सदियौँदेखि चल्तिमा रहेका भन्दा भिन्न छन् । समग्रमा सरल भाषाका बेजोड कविताको प्रवाह छ ‘विचारको उल्टो नदी’मा । सङ्ग्रहको पहिलो कविता ‘सूचना’ नै पाठकलाई यस कुराको सूचना दिन पर्याप्त छ ।
समग्रमा कविता जहिलेसुकै लेखियोस् तिनले तत्कालिन समयकै चित्रण गरिरहेको हुन्छ । समयका घाउहरु, देखेभोगेका पीडाका स्वरुपहरु, यावत् विसङ्गतिहरुप्रतिको व्यापक असन्तुष्टि, कविको परिकल्पनाको देश, यीनै त हुन् कविताका विषयवस्तु । उनकै भाषामा ‘कविता कवि–व्यक्तित्वको वैचारिक धरातलको परावर्तन पनि हो ।’ खनालका कवितामा पनि यिनै विषयवस्तुको प्रधानता छ । यति हुँदाहुँदै पनि त्यसमा पृथकता कुन अर्थमा छ भने उनि ‘आउट अफ ट्रयाक’ कविता लेख्छन् ।
‘पर क्षितिजबाट
उड्दै आउने एउटा अजङको पहाड
जब थामिनेछ यहीँ कतै
यिनै मान्छेका टाउकाहरुमाथि
उफ् ! यो गह्रौँ र भयावह हुनेछ
अनि कसरी थाम्नेछन् यिनीहरुले ?’
(सूचना)
कवि श्यामलका शब्द सापटी लिने हो भने ‘उनको कविताको सत्ता सुन्दर र आकर्षक छ ।’ यो किन पनि भनियो भने प्रत्येक युगमा केही मानक कविहरु जन्मन्छन् र उनिहरुले कविताको आफ्नै किसिमको सत्ता निर्माण गर्छन् । पछि त्यो सत्तामा थुप्रैथुप्रै कविहरुले शासन चलाउँछन् । सुवास खनालका कवितामा त्यो दम छ जसले नेपाली कवितामा अलग सत्ताको स्थापना गर्न सक्छ । कवितामा स्थापित मान्यताहरुलाई चुनौती दिनुको अर्थ नै यही हो । यसका यौटा ज्वलन्त उदाहरण हो, सङ्ग्रहभित्रको कविता— ‘१०४ ज्वरो’, जहाँ उनि स्पष्ट भन्छन्—
‘म छोरो
कुनै एक कुनामा बसेर
हस्तमैथुन गरिरहेछु
बरm यसले दिएका छ– अजिबको राहत
जुन कुनै सरकारले मेरो
घरको आँगनमा ल्याएको
राहतको प्याकेजभन्दा
निकै शक्तिशाली छ ।’
(१०४ ज्वरो)
खनालको काव्य शक्ति यति मात्रै होइन । आफ्नै परिवेशका बिम्ब टिपेर त्यसमा युग—बोध गराउन सक्नु उनको अर्को खुबी हो । बाल्यकालका ‘नोस्टाल्जिक’ यादहरुको बिम्ब टिपेर उनले ‘एक दृश्य— घोडा नाच’ मा जुन काव्यिक चेत प्रस्तुत गरेका छन्, यस्तो कमै मात्र फेरि पढ्न पाइएला ।
उनका कवितामा चिन्तन छ । समयको यथार्थलाई राम्ररी मनन गरिएका छन् कवितामा । कवितामा छताछुल्ल छन्, वर्तमान प्रतिको असन्तुष्टि । तर कवि आफैँलाई ती केही गर्न नसक्नेहरुको भीडबाट पर राख्न चाहँदैनन् । उनमा यो स्वीकारोक्ति स्पष्ट भेट्न सकिन्छ । उनी आफ्नै जन्मलाई समेत मात्र एक दुर्घटना मानिरहेका छन् । यसरी हेर्दा कहीँकतै यस्तो पनि लाग्न सक्छ कि उनका कवितामा खाली असन्तुष्टि मात्रै छ या त्यसमा कहीँ आशाको किरण छैन । तर वास्तवमा केही भएन भन्नु पनि केही हुनुपर्छ भन्नु होइन र ?
अचेलका कवितामा देखिएका विकृत परम्परालाई नजिकैबाट नियालेका यिनी आफूलाई केही फरक देखाउन पछि परेका छैन । त्यसैले पनि ‘बदलामा’ शीर्षक कवितामा उनले लेखेका छन्ः
‘बदलामा कवि हुनुको
माग्छौ भने इमान लिलामीमा
मलाई कवि हुन स्वीकार्य छैन’
‘विचारको उल्टो नदी’ वास्तवमै आम विचारको धाराभन्दा उल्टो विचारहरुको प्रवाह हो । कवि त्यो हो जसले फरक कोणबाट कुनैपनि विचारको पुनःविचार गर्छ । खनालले आफूलाई यसमा खरो उतारेका छन् र सोच्न बाध्य पारेका छन् कि हामीले सत्य मान्दै आएका विचार के साँच्चै अकाट्य हुन् त ? जब कवि बुद्धको देशमा शान्ति थियो वा बुद्धकै कारण शान्ति थियो भन्ने कुरालाई वाहियात भन्छन् भने पाठकलाई सोच्ने बाध्यता हुन्छ नै कि कवि विचारको उल्टो नदी बगाईरहेछन् या यो समय उल्टो हिँडिरहेछ ?
अचेलका कुनै पनि कवि कोही मानक कविको प्रेरणाबाट नै अघि बढिरहेका छन् । हिजोका स्थापित कविका लेखनीबाट प्रभावित हुनु आपत्तिजनक कुरो पनि होइन । यदि कसैको लेखनीलाई हुबहु नक्कल गरियो भने त्यसमा आपत्ति मान्नुपर्ने हुन्छ । हामीकहाँ मानक मानिएका कतिपय कविहरु अझैपनि विश्वसाहित्यका स्थापित कविहरुलाई हुबहु नक्कल गरेरै आफूलाई मानक भनाइरहेछन् । यसमा बरु खनाल सचेत देखिएका छन् । उनले स्पष्ट उल्लेख गरेका छन् आफ्ना आदर्श कविहरु र तिनको प्रभावलाई चाहे त्यो सर्वेश्वर दयाल सक्सेना होस् या जन लेनन ।
उनका कवितामा पाठकलाई प्रभाव पार्न सक्ने अर्को तत्व भनेको प्रयोग हो । उनका कवितामा शब्दहरुको भरपूर प्रयोग त छ नै साथसाथै शैलीको पनि प्रयोग छ । ‘विचार’ कविता त्यही प्रयोगको उपज हो । उनि विचारमा स्पष्ट छन् र भन्छन् आफ्नै विचारको जरामा टेकेर उभिएको छु । यो नै कविको ताकत हो ।
केही आउटडेटेड मान्छेहरु
ईश्वरको हत्या नभएको
झुटा प्रमाणहरु जुटाइरहेछन्
र भन्छन्– हामी सबैको आत्मामा ईश्वर छ
(बजारमा आत्मा)
समयको चेत राख्नु, वर्तमानका स्थापित मान्यताहरुलाई चुनौति दिनु र भोलिका लागि सोच्न बाध्य बनाउनु, उनका कविताको शक्ति हो । खनालका कवितामा त्यो शक्ति छ जसले नेपाली कवितामा स्थापित धेरै मान्यताहरु र तिनै मान्यताका आधारमा आफूलाई मानक कवि मान्नेहरुलाई एकपटक राम्रैसँग हल्लाउनेछ । कृतिका हिसाबले यो कविको पहिलो प्रयास भएता पनि विचारले उनि खारिएका छन् र कैयाँैपटक माझिएका उनका विचार बलशाली छन् ।
सुवास खनाल साँच्चैका उल्टो विचार भएका कवि हुन्, विशेषगरी तिनीहरुका लागि जो विचारमा पौडनै जान्दैनन् । नत्र ‘विचारको उल्टो नदी’ मा पाठकले कहीँकतै पछाडी फर्किनु पर्ने अवस्था आउँदैन । किनभने नदी सागरतिर बगिरहेको हुन्छ । कविता विचारको नदी हो र यो कवि मस्तिस्कको सागरबाट उर्लिएर किनारतिर बगिरहेको हुन्छ ।
आजको समयको नियति यो छ कि, यो आफैँ उल्टोतिर बगिरहेझैँ देखिन्छ । यो समयमा बाँचिरहेका मान्छेका सोचका धारहरु उल्टाझैँ देखिन्छन् । उल्टो बगिरहेको समयको उल्टो दिशा ताकेमा मात्रै सापेक्षिक सत्यताको कुनै देश पुग्न सकिनेछ भन्ने कवि आँकलन रह्यो भन्ने अनुमान हुन्छ । यसर्थ नामाङ्कित भएको हुने अनुमान गर्न सकिन्छ –‘विचारको उल्टो नदी’ ।
कविताले त्यसबेला गुणवत्ताको मूल्य बोक्छ , जब यसको लेखकीय शक्तिले सार्वकालिक महत्वको विषय समाउँछ । खनालका कविता बढीभन्दा बढी कन्टेम्पोररीचाहीँ छैनन् । विशेषत ः सामयिक चेतना सँगाल्दै गर्दा सार्वकालिक महत्वलाई उनी भुल्दैनन् , त्यसकारण उनी सफल छन् । झिनाजस्ता लाग्ने विषयलाई पनि असामान्यिकरण गरेर प्रश्तुत गर्नु उनको काव्यिक खुबीकै गणनामा पर्दछ । उदाहरणका लागि उनको झार कवितालाई लिन सकिन्छ । बिम्बका हिसाबले झारले उत्रो ठूलो काव्यिक भाव पैदा गर्दैन की भन्ने लाग्दालाग्दै उनी लेख्छन् –
’कहाँ हालेर हिँड्यौ त्यस बखत
तिमीले तिम्रो छाती
र झार बनेर जन्मियौ
देशहरुको अनगिन्ति जङ्गलको यो एउटा देशमा‘
कविलाई बधाई । उनलाई काव्यिक शुभकामना । भविष्यको लेखन अझै सशक्त हुँदै जाओस् ।
