‘विचारको उल्टो नदी’ सार्वजनिक
‘विचारको उल्टो नदी’ सार्वजनिक
छवि अनित्यअसार १३, हेटौंडा
प्यारा गुरुहरु !
मलाई हली बन्न सिकाइदेऊ !
मलाई गोठालो बन्न सिकाइदेऊ !
मलाई सिपाही बन्न सिकाइदेऊ !
मलाई राजनीति गर्न सिकाइदेऊ !
मलाई खेलाडी बन्न सिकाइदऊ !
वा
मलाई अध्यापन गर्न सिकाइदेऊ !
मलाई पेसाप्रति
प्रेम जगाइदेऊ !
हामी जीवनसँग टाढिएर
ज्ञान लिनै सक्दैनौँ ।
(कलेजः एक यातना शिविरबाट)
युवाकवि सुवास खनाल आफ्ना कविताका हरफहरु वाचन गरिरहँदा अगाडी बसेर ध्यानपूर्वक सुनिरहेका थिए, उनलाई कखरा सिकाउने गुरु उद्धव सापकोटा । त्यहीँ सँग मुस्काइरहेका थिए उनलाई कविता लेख्न सिकाउने गुरु रमेशमोहन अधिकारी र क्याम्पसमा अंग्रेजी साहित्य पढाउँदै साहित्यप्रतिको मोह जगाइरहने गुरु उदय अधिकारी ।
शुक्रबार मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाको सभाहलमा कवि खनालको पहिलो कविताकृति ‘विचारको उल्टो नदी’ विमोचन भयो । सिङ्गै साहित्यिक पारिवारिक माहौलका कवि खनाले पुस्तक विमोचनका लागि वरिष्ठ कवि विमल निभा र श्यामलसँग आफ्ना पिता गोकर्ण खनाललाई पनि मञ्चमा उकाले ।
विमोचनपछि खनालले भने, ‘मैले जीवनको पहिलो कविता मुना बालपत्रिकाबाट चोरेर सुनाएको थिएँ, त्यसपछि बुबाको डायरीबाट दोस्रो र तेस्रो कविता पनि । चौथोबाट बल्ल मैले आफैँले कविता लेख्न थालेँ ।’
लेखकीय इमानदारिताका विषयमा सचेत कवि खनालले बजार हेरेर कविता लेख्ने परिपाटी बढ्दै गएकोप्रति असन्तुष्टि पनि व्यक्त गरे ।
पुस्तक विमोचनपछि बोल्दै कवि श्यामलले विचार तत्व कवितामा अनिवार्य रहेको बताउँदै खनालका कवितामा विचार सँगसँगै
काव्यिक चेतना समेत स्पष्ट रहेको बताए । कविता कुनै नदी जस्तो तीव्रता हराउने वस्तु नभएको बताउँदै उनले भने, ‘आजका कविताको तीव्रता यसको केही दशक पछि मात्र देखिन्छ ।’ विचार विहीनता कविताको सबैभन्दा ठूलो सत्रु भएको र विचारबाट भाग्नेहरुले सुन्दर कविता सिर्जना गर्न नसक्ने उनले बताए ।
वरिष्ठ कवि विमल निभाले कवि सुवास खनालका कविताहरु नेपाली कविताका नयाँ प्रतिनिधिका रुपमा उभिन सक्षम रहेको बताए ।
यस्तै कवि भूपिनले कवितालाई जारी विश्वकप फुटबलसँग तुलना गर्दै खनालको कृति कुनै स्ट्राइकरको कलात्मक गोल भएको बताए ।

