फेल

फेल
- प्रतीमा पाठक
देखे देखि यो राजमार्गलम्पसार छ आकाशमुनि
वर्षौँ भयो यो लोकल गाडी
यो "रातो म्याजिक"...
ह्युँक्याएको मैले पनि !
वर्षौँ भयो तिमीलाई मैले देख्न थालेको
वा भनौँ तिमीलाई मैले हेर्न थालेको
देखे देखी पर बाट आउँदै गरेकी
त्यो छाता मुनी
घामपानी सँग लुक्ने त्यो कलिलो मुहार
हावासँग खेल्ने ती लामो कपाल
मुस्कान खोल्ने ती अधरहरु
स्नेह बोल्ने ती नयनहरु
सधैं हेरेको हुन्छु
तिम्रो सिउँदोको राजमार्ग
....खाली खाली हुन्छ
र ढुक्क भईरहन्छु म ।
मेरो रातो म्याजिकमा चढ्ने
ओ सुन्दर गुलाफ
कसले ह्युँक्याउला रातो गाडी
तिम्रो सिउँदोको राजमार्गमा
कसले लगाउला चक्कर तिम्रो गलाको
कहाँ बस्ला ट्राफिक तिम्रो जिन्दगीको !!!
सोचिदिन्छु, सिर्फ सोचिदिन्छु
त्यो भन्दा बढी केही सोच्न सक्दिन
पढ्ने बेला भेटिएन
तिमी जस्ती शिक्षिका
छाढियो पढ्न , थालियो सुसेल्न
झुन्डिदै गाडीको ढोकामा
आज हेर हामी बीचको दूरी पनि मेटिएन
कहिले काहीँ हाँसिदिन्छ्यौ , बोलिदिन्छ्यौ
मनमै आई सुसेलिदिन्छ्यौ
तिमी सुन्दिनौ आफ्नै सुसेलीहरु
१५ कि.मी तिमीलाई आँखाभरी पढ्छु
इयरफोनले कान र परेली बन्द हुँदा तिम्रो
अनि रातभरी कण्ठ गर्छु..
झिलिक्क बल्ने, तिम्रा ती स्वप्निल आँखाहरु !!
आउँदा जाँदा राजमार्गमा
तिमीले पढाउने विध्यालय अगाडि
च्यातेर मनभरिका प्रश्नपत्र
फेल भईरहन्छु म....
....स्कुल पढ्दा जस्तै
झन् हिजो सुनेँ
स्कुटर किन्यौ अरे तिम्ले !