स्थागित अवतारको जन्म
कथा ----------
स्थागित अवतारको जन्म
- तुल्सी थापा
"के अब म जन्म लिन सक्छु ?"
सृष्टिको सर्वोत्कृष्ट स्थान अर्थात आफ्नो जननीको गर्भबाट जन्मपूर्वको संवेदित क्षणमा एक नवजात शिशुले, सम्भव भए, सम्प्रेषण गर्ने पहिलो भावप्रश्न हो यो। सृष्टिकर्ताले यस प्रश्नलाई शान्त स्पन्दनमा सुनेको हुनुपर्छ। जननीले चाहीँ अन्तरमनको तरङ्गबाट यो प्रश्न सस्नेह अनुभूत गरेकी हुनुपर्छ।
प्रश्न कसलाई? सृष्टिकर्तालाई वा जननीलाई वा दुबैलाई ? सम्झौँ, यो प्रश्न सोधियो र सोधियो दुबैलाई।
मेरो उत्सुकतामा, मेरो सृष्टिकर्ता र जननी दुबै हर्षित भएका हुनु पर्छ कि तिनीहरु यस जन्मपूर्वको शिशुमा जीवन अनुप्राणित गराउन सफल भएका छन्। अब मात्र सुरक्षित अवतरणको कुरा हो। त्यसमाथि मेरा सृष्टिकर्ताहरु, जन्म जस्तो नव सृष्टिका लागि पूर्ण मनयोगका साथ जुटेकै हुनुपर्छ।
मेरी जननीले आफ्ना नरम औंलाले बाहिरबाटै स्पर्ष गर्दा म उनको मातृस्नेहप्रति अभिभूत नहुने कुरै भएन। म उत्सुक थिएँ। पृथ्वीमा अवतरणका लागि र यस उत्सुकताले मलाई अभिमन्यू बनाएको छ। मेरो सृष्टिकर्ता र मेरी जननीको भावपूर्ण वार्ता मैले अभिमन्यू भएरै सुनेको हुनु पर्छ। यसरी:
"जननी, तपाईँ आमा बन्न तयार हुनुहुन्छ?"
"म मातृत्वको लागि लालायित छु।"
"तपाईँ भाग्यमानी आमा बन्नुहुनेछ।"
"सबै आमा भाग्यमानी हुन्छन्।"
"हैन तपाईँ अरुभन्दा भिन्न आमा हुनुहुनेछ।"
"कसरी?"
"यो शिशु तपाईँको गर्भबाट साधारण मान्छे भएर हैन, अवतारको रूपमा पृथ्वीमा अवतरित हुनेछ।"
सृष्टिकर्ताको यो रहस्योद्घाटनले म अचम्मित हुने नै भएँ। अवतारको रूपमा अवतरण गर्ने विषेश स्वरूप हुने रहेछ मेरो। अवतारको अलौकिकताको भावमा एकछिन पनि विचरण हुन पाएको थिइनँ कि अर्का सृष्टिकर्ताले अवरोध खडा गरिहाले:
"हैन, हैन पर्ख । यो शिशुलाई अझ केही सिकाउन बाँकी रहेको हुनुपर्छ।"
सृष्टिकर्तामबिचमै मतभेद किन? कतै यिनीहरू मलाई जन्मनै नदिने त हैन !
मेरो आशङ्का स्वभाविक थियो। सृष्टिकर्ताहरूमा तर्कवितर्क हुँदै गरेको आवाज सुनिन्थ्यो। मेरी जननी र म चुपचाप तिनलाई सुन्दै थियौं:
"यस शिशुको अवतरणको परीक्षण हुनुपर्छ।"
"परीक्षण ? त्यो त जन्मपश्चात पृथ्वीमा सावित हुनेछ।"
"हामी धरै पटक विफल भएका छौँ। यो पाली निराश हात लाग्नु भएन।"
"कसरी विफल भयौँ? हामीले पठाएका सबै अवतारहरु सफल भएका छन्। मानिसहरु अझै तिनलाई पूजा गर्छन्।"
"पूजाले मात्रै हुने भए त्यहाँ असङ्ख्य मन्दिर छन्। पूजा हुने गरेकै छ। किन पठाउनु पर्यो फेरि अर्को अवतार?"
म झस्किसकेको थिएँ। मेरी जननी लामो सास तानेर मलाई धैर्य बनाउँदै थिइन्- "तिनीहरूलाई तर्क गर्न देऊ। आत्तिनु पर्दैन म तिमीसङ्गै छु।"
"के कमी रह्यो र अब यिनको अवतरणका लागि?" सृष्टिकर्ताको तर्क सिद्धिसकेको थिएन।
"हामीले त्रेतामा 'राम' पठायौं। द्वापरमा 'कृष्ण'लाई। 'बुद्ध', 'क्राइष्ट', 'पैगम्बर', 'महम्मद' सबै हाम्रा सृष्टि थिए। तर पनि आज पृथ्वीमा मानिस झनै किन दयनीय छन्?"
"जबजब आवश्यकता पर्छ म आउनेछु भनेर कृष्णद्वारा दिव्योक्ति गराइएको छँदैछ। अब आवश्यकता पर्यो। यो शिशु नवअवतार भएर अवतरित हुनेछ।"
"अवतरित हुनेछ, तर केही काल पछि फर्कनेछ। फेरि उस्ताकोउस्तै।"
"फेरि कसैलाई अवतरण गराइनेछ।"
"हो, यो फेरिफेरिको उपक्रमलाई दोहोर्याउन नपरोस्। तसर्थ यसको पूर्ण तयारी गर्नुपर्छ।"
"पूर्ण तयारी भैसकेको छ।"
"परीक्षण गरौँ।"
"के बाँकी रह्यो र अब परीक्षण गर्ने? स्वरूप, भाव, दिव्य ऊर्जा सबै संवरित भैसकेका छन्।"
"तिमी तयार छौ?" विमति राख्ने सृष्टिकर्ताबाट अकस्मात मतिर प्रश्न सोझिँदा म अक्कनबक्क भएँ। म त तिनका विचारविमर्श एकनासले सुन्दै मात्रै थिएँ। मलाई त कुनै मिसनमा पठाउन लागिएको हो। पठाए तयार छु। नपठाए स्थागित हुनेछु। यतिसम्म बुझेको थिएँ। त्यसैले मौन बसेँ। यसमा मेरी जननी पनि सहमत थिइन् कि मैले आफ्नो पहिलो बुद्धिमानी देखाएँ केही नबोलेर।
मेरो विवशतालाई उनीहरुले बुझेर नै हो क्यारे मेरो जवाफको प्रतीक्षा नगरीकन ती वार्तामा लागे:
"हामीसङ्ग खासै समय बाँकी छैन। यो शिशुको अवतरण हुनै पर्छ। कि अवतारको रूपमा, नभए एक साधारण शिशुको रूपमा। के परीक्षण गर्ने हो, छिटो गरौँ।"
सृष्टिकर्ताहरू मेरो अवतारत्वको परीक्षण गर्न सहमत भएजस्ता छन्। सायद निष्कर्षमा पुग्नेछन्। खुसी लाग्यो। विमतका सृष्टिकर्ताहरूले कडा प्रश्न गर्न थाले।
"यसलाई 'सत्य' सिकाइयो?"
"सिकाइयो। यसमा शङ्का नगर्नोस्।"
" 'असत्य' के हो सिकाइयो?"
"किन सिकाउने 'असत्य'?"
" 'सत्य' बुझ्न।"
"अनौठो !"
" 'प्रेम' सिकाइयो।"
"हो, सिकाइयो।"
"घृणा?"
"छैन।"
"किन सिकाउनु भएन 'घृणा'?"
"आवश्यक ठानेनौँ।"
"आवश्यक छ, 'घृणा' पनि सिकाउनु पर्छ।"
"अरू?"
" 'कर्म' के हो पक्कै सिकाउनु भयो होला !"
"नसिकाउने कुरै भएन।"
"तर 'अकर्म' सिकाउनु भएको छैन होला ! त्यो पनि सिकाउनु पर्छ र त्यसो त 'जीवन' मात्रै होइन 'मृत्यु' पनि सिकाउनु पर्छ। 'ज्योति'मात्र सिकाएर पुग्दैन। किनकि त्यसमा 'अन्धकार' हुँदैन। 'अन्धकार' बुझेपछि मात्र 'ज्योति' खोजिन्छ। त्यसैले, 'अन्धकार' पनि सिकाउनु पर्छ।"
"तिमीहरू बहुलाएका छौ। अवतरित हुनेलाई उल्टो सिकाउन खोज्दै छौ।"
"यस्का 'उल्टो'मात्र छैन। 'उल्टो' नभै 'सुल्टो' हुँदैन। 'उल्टो' नचिनेपछि 'सुल्टो' छुट्याउन गाह्रो पर्छ।"
"किन, किन उल्टो सिकाउनु पर्यो?"
"किनकि मानिस उल्टोबाट सिक्ने प्राणी हो। हामीले सुल्टोबाट सत्मार्गमात्र देखायौँ। फरक त्यहीँ पर्यो।"
"तिमीहरू अवतारको रूपमा 'रावण' पठाउन चाहन्छौ?"
"हैन, हामी 'रावण' भित्रको 'राम'लाई पठाउन चाहन्छौँ। 'राम' आफै 'राम' हो। 'राम'लाई 'राम' बनाइरहन पर्दैन। 'रावण'भित्रको 'राम' जन्मिनुपर्यो। तब सही अवतारको जन्म हुनेछ।"
"अचम्म ! तिमीहरुको सोच 'अवतार'को विधिविधानभित्र पर्दैन।"
"पार्नुपर्छ।"
"पार्न सकिन्नँ। हामीले 'रावण' पठाइ रहन पर्दैन।"
" जानेछ, 'रावण' जानेछ यो पालि। तर 'राम' भएर आउनेछ।"
"जिद्दी नगर। यो हाम्रो विधिविधानभित्र पर्दैन।"
"पार्नुपर्छ।"
"पार्न सकिन्नँ।"
सृष्टिकर्ताबिच मतभेद यति चर्को हुँदै गयो कि म सुषुप्त भैसकेको थिएँ। मेरी जननी छट्पटाउन थालिसकेकी थिइन्। ती सृष्टिकर्ताहरूको विवादमा मेरो अवतारत्व स्थगित भएको रहेछ। सृष्टिको यो सर्वोत्कृष्ट स्थान अर्थात आमाको गर्भबाट म बाहिरिएछु मिश्रितरूपमा। न पूर्ण 'राम' थिएँ, न त पूर्ण 'रावण'। केही अंश 'राम'को केही अंश 'रावण'को ग्रहण गरेर अर्थात सात अरबमध्ये एक मान्छे भएर जन्मेको रहेछु।
ती सष्टिकर्ताहरू अहिले मेरो सामु छैनन्। यतिखेर मेरी जननीको ममतामयी आँखामा म जवाफ खोज्दै छु:
"के मैले सृष्टिकर्ताको विमतिमा पनि जन्म लिएर कुनै गल्ती गरेँ?"
"छैनौं, तिमी मेरो लागि अवतार नै हौ।"
मेरी जननीको यही मातृत्वमा मैले सृष्टिकर्ताको स्थगित अवतारत्वलाई बिर्सेको छु – अहिलेसम्म। मान्छे हुनु आफैँमा अवतारत्व हो। यही बुझेको छु मेरी आफ्नी आमाबाट।